संसदीय छानबिन समिति बनाउन माग

0
Shares

काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी एमालेले अर्थमन्त्री जनार्दन शर्मामाथि संसदीय छानबिनको माग गर्दै मंगलबार संसद्मा अवरोध गरेको छ ।

एमालेले अर्थमन्त्री शर्माले बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति नबनाएसम्म सदन अगाडि बढ्न नदिने चेतावनी दिएको छ ।एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बजेट निर्माणमा अनाधिकृत मान्छे प्रवेश गराउनु वित्तीय अपराध भएको टिप्पणी गर्दै सदनमा प्रश्न गर्नुभयो– ‘करका दरहरू राष्ट्रले नचिनेको मान्छेले, कानुनले नचिनेको मान्छेले राति छिरेर बनाउने ? योभन्दा राष्ट्रिय गद्दारी के हुन्छ ? यो राष्ट्रघात हो ?’

अर्थमन्त्रीले सानातिना त्रुटि गर्दा तत्कालीन समयमा डा. रामशरण र भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा संसदीय छानबिन समिति बनेको स्मरण गर्दै भट्टराईले अहिलेको अपराध गम्भीर प्रकृतिको भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अर्थमन्त्रीले कोही आएको छैन भनिहाल्नुहुन्छ, आएको छ भन्न पनि मिलेन, दुनियाँमा कहिल्यै गलत गरेको छु भनेर कसैले भन्दैन, आधार र प्रमाणहरूले पुष्टि गर्छ ।’

अर्थमन्त्रीबाट पहिल्यै राजीनामा आइसक्नुपर्ने टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘अझै समय छ, सभामुखको अग्रसरतामा संसदीय छानबिन समिति बनोस् । उहाँले होइन भन्नुभएको छ, हामी हो भनिरहेका छौं । त्यसले होइन भन्ने देखायो भने हामी मान्छौं, यो हाम्रो अडान हो, यो सदन त्यसपछि मात्र अगाडि बढ्छ ।’

प्रमुख सचेतक भट्टराई बोलिसकेपछि एमाले सांसदहरू उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्रीले स्पष्ट पार्न पाउनुपर्ने नियमावली सम्झाउँदै बस्न आग्रह गर्नुभएको थियो । शुरूमा स्पष्ट पार्न भनिएको र मन्त्रीले स्पष्ट पारेको भन्दै सापकोटाले यसमा सबै सांसद बोलेर छलफलमा जान प्रस्ताव गर्नुभयो ।

तर, एमालेले संसदीय छानबिन समितिको माग गरेर अवरोध गरेपछि बजेटमाथिको छलफलको बाँकी कार्यक्रमलाई कार्यसूचीबाट हटाएर असार १ गते ११ बजे बस्नेगरी बैठक स्थगित गर्नुभयो ।