काठमाडौं एयरपोर्टमा अब यात्रुले नाक छोप्नुपर्दैन : मन्त्री आले



काठमाडौँ ।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अबका दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले नाक छोपेर हिड्नु नपर्ने बताउनु भएको छ । काठमाडौं विमानस्थलमा कार्यरत निजी क्षेत्रका १५२ जना सरसफाई कर्मचारीलाई दिइएको दश दिने अन्तर्राष्ट्रिय स्तरको सफाई तालिमको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटकहरु आउँदा फोहरका कारण अब नाक छोप्नु पर्ने अवस्थाको अन्त भएको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, “हामीले एअरपोर्टमा पर्यटक आउदा फोहरले नाक छोप्नु पर्ने अवस्थाको अन्त गरेका छौँ, विमानस्थल विमान सरसफाई राख्ने जिम्मा सरसफाइ कर्मीको हातमा छ, आफुले आफूले सरसफाई सम्बन्धि तालिमको भरपुर प्रयोग गर्नुस, के सहयोग चाहिन्छ, म सहयोग गर्छु ।” विमानस्थलमा सरसफाई सम्बन्धि टेण्डर गर्दा प्रत्यक वर्ष ठेकेदार फेरीने तर सरसफाइ कर्मचारी उही रहने भएकाले विमानस्थल सधै सफा राख्ने जिम्मा सफाइ कर्मीकै हातमा भएकाले देशको सान राख्नका लागि भएपनि विमानस्थल सधै सफा राख्न समेत मन्त्री आलेले आग्रह गर्नुभयो ।

विमानस्थलमा सरसफाइ सम्बन्धी काम गर्ने कर्मचारीहरुलाई वार्षिक रुपमा पुरस्कार गर्ने व्यवस्था मिलाउन समेत मन्त्री आलेले विमानस्थल प्रमुखलाई निर्देशन दिनुभयो ।

सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले सरसफाइको कुरामा कामदारमात्रै दोषी नहुँने भएकाले सो क्षेत्रमा खटिने कर्मचारी, सुपरभाइजरहरुले पनि क्वालिटियुक्त काममा विशेष निगरानी सहित सुपरभिजन गर्न समेत आग्रह गर्नुभयो।

मन्त्री आलेले आफुले दिएको निर्देशन बमोजिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिभिन्न विकासका कामहरु भएका र थुप्रै राम्रा कामहरु भएको दाबी समेत गर्नुभयो ।

विमानस्थलमा व्यागेज बेल्टदेखि टर्मिनल भवनको शिलान्यास गरिनुका साथै पानीका फोहरा निर्माणका कामहरु पनि आफ्नै निर्देशनमा भएको मन्त्री आलेको भनाइ थियो ।

विमानस्थलमा सरसफाइका समग्रीहरु क्वालिटी युक्तका हुनु पर्ने र विमानस्थलमा पर्यटक आउदा खुशी भएर गुड काठमाडौँ विमानस्थल भन्ने खालको सरसफाई हुनु पर्ने मन्त्री आलेको भनाइ थियो ।

आफू खरो स्वभावको भएको र कुनै पनि राम्रा कामको राम्रो परिणाम नआए आफ्नो मन दुःख्ने भएकाले सधै राम्रा काम गर्न समेत मन्त्री आलेले सबैलाई आग्रह गर्नुभयो । उहाँले थप भन्नुभयो, “म खरो स्वभावको छु, राम्रा कामका लागि म सधै अग्रसर हुन्छु, राम्रा काम गर्न पछि नहट्नु होला ।” अन्तर्राष्ट्रिय विमानस्थलदेखि आन्तरिक विमानस्थल सम्म यात्रुका सामान बोक्ने टयाङ्कको व्यवस्था गरिन आवश्यक भएकाले त्यसका लागि अध्यन सुरु भएको समेत मन्त्री आलेले जानकारी दिनुभयो।

मन्त्री आलेले सरसफाईमा सहभागी भएकाहरुलाई तालिम दिनु हुने सरसफाई अभियन्ता खेम शर्मा, मनऋशी धितालहरुलाई धन्यबाद दिनु हुँदै अब विदेशमा नभएर नेपालमा सरसफाई अभियानलाई तिब्रता दिन समेत आग्रह गर्नुभयो ।

उक्त सरसफाई अभियानको तालिममा निजी क्षेत्रका कुल १५२ जनाले सरसफाई सम्बन्धि तालिम लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्