विपद् जोखिम न्यूनीकरणमा सेनाको प्रशिक्षण

0
Shares

हेटौंडा  । 

गोरखबहादुर गण सुपारेटार ब्यारेक हेटौंडाले अभ्यास मनसुन—२ प्रशिक्षण दिएको छ । जिल्ला प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, नेपाल रेडक्रस, नेपाल स्काउटका ६२ जनालाई अभ्यास मनसुन–२ को योजना, २०७९ सम्बन्धी तालिम दिइएको हो ।

मकवानपुरमा वर्षाको समयमा आइपर्ने विपद् तथा प्रकोपको प्रतिकार्य तथा जोखिम न्यूनीकरण गर्न जेठ २० गतेदेखि शुरू तालिम आइतबार सम्पन्न भएको हो । तालिममा रिभरक्रसिङ अभ्यास, ¥याफ्टिङ बोटिङ अभ्यास र डेमोन्स्ट्रेसन गराइएको थियो । तालिममा विपद्मा प्रयोग हुने स्पेसल औजारबारे जानकारी गराइएको थियो ।

डुबान तथा बाढीको समयमा अतिजोखिमयुक्त क्षेत्र पहिचान र उद्धार, डुबान तथा बाढीको समयमा कम जोखिमयुक्त क्षेत्रको पहिचान र उद्धार गराउनुका साथै डुबान तथा बाढीको समयमा डुबेको व्यक्तिको उद्धार गर्ने तरिकाबारे तालिम दिइएको थियो । रोपको प्रयोग बनाउने तरिका, वाटर रेस्क्यु, स्वीमिङ, नदीका नियम, हाइलाइन रेस्क्यु, प्राथमिक उपचार, हेलीरेस्क्यु गर्ने तरिका र प्रतिवेदन गर्ने तरिकाबारे पनि प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षण समापनमा गोरखबहादुर गणका गणपति प्रमुख सेनानी सुभासचन्द्र महतले विपद्को समयमा नेपाली सेना आफ्नो कर्तव्यपालना गर्न तयार रहेको बताउनुभयो । उहाँले नेपाली सेना विपद्का दौरानमा अन्य सुरक्षा निकाय तथा सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै परिचालन हुनुपर्ने हुँदा सम्पूर्ण निकायहरूसँग सहजढंगबाट समन्वय गरी विपद्मा कार्यसम्पादनका लागि अन्य सुरक्षा निकाय तथा स्टेक होल्डर्ससँग समन्वय गरी प्रभावकारी बनाउन अभ्यास मनसुन तालिम दिइएको जानकारी गराउनुभयो ।प्रमुख सेनानी महतले मकवानपुरमा बाढी भन्दा बढी पहिरोको जोखिम हुनाले तालिममा सहभागीलाई विपद्को समयमा उद्धारका निम्ति तयारी अवस्थामा रहन आग्रह गर्नुभयो ।