ढिलो विवाह ढिलो सन्तान बढ्यो ‘हाई रिस्क प्रिग्नेन्सी’ को स्थान

140
Shares

पछिल्लो समय गर्भावस्थाको उच्च जोखिम (हाई रिक्स प्रिग्नेन्सी) बढिरहेको छ । यस विषयमा काठमाडाैं विश्वविद्यालय शिक्षण अस्पताल (धुलिखेल अस्पताल)ले जोखिम न्यूनीकरणका लागि भूमिका निर्वाह गरिरहेको छ । यसै विषयमा स्त्रीरोग विशेषज्ञ प्रा.डा. आभा श्रेष्ठसँग नेपाल समाचारपत्रका लागि भगवती तिमल्सिनाले गरेको कुराकानीको सारसक्षेप :

हाई रिक्स प्रिग्नेन्सी भनेको के हो ?

गर्भवती महिलामा यदि कुनै मेडिकल समस्या देखियो भने त्यसलाई हाई रिक्स प्रिग्नेन्सी अर्थात् गर्भावस्थाको उच्च जोखिम भनिन्छ । गर्भवती भएको अवस्थामा ४ देखि ६ महिनामा मधुमेह, उच्च रक्तचाप हुने, दम भएका महिला गर्भवती हुँदा, पहिला नै मधुमेह भएका वा गर्भावस्थामा नै अरु मेडिकल समस्या आयो भने यस्तो अवस्थाको गर्भवतीलाई गर्भावस्थाको उच्च जोखिम भनिन्छ ।

यस विषयमा ध्यान दिनु किन आवश्यक छ ?

किन आवश्यक छ भने पछिल्लो समय ढिलो गरी विवाह हुन्छ । आफ्नो भविष्य (करियर) बनाउने विषयमा महिला केन्द्रित हुनु स्वाभाविक छ । विवाह गर्ने उमेर पनि २० वर्षपछि छ, पढाइ सक्दा २२ देखि २५ वर्षको उमेर हुन्छ । त्यसपछि गर्भवती हुने पनि ढिलो नै हुन्छ । कसैकसैको पहिला नै पनि समस्या भएको हुन्छ । उमेरसँगै मेडिकल समस्या बढ्दै जान्छ । त्यसले गर्दा पनि गर्भावस्थाको उच्च जोखिम बढ्दै गएको छ । यो हाम्रो नेपालको लागि नयाँ योजना हो । गर्भावस्थाको उच्च जोखिम न्यूनीकरणका लागि धुलिखेल अस्पतालले पछिल्लो दुई वर्षदेखि छुट्टै वार्ड समेतको व्यवस्था गरी काम गर्न थालेको छ । यो योजना नेपालका लागि नयाँ सोच भएकाले देशका प्रसूति सेवा रहेका अस्पतालहरुले पनि रिफर गरेर प्रसूति पठाउँछन् ।

उच्च जोखिम अवस्थामा रहेका गर्भवतीहरुको परीक्षण कुन- कुन समयमा गरिन्छ ?

मधुमेहका बिरामीलाई कस्तो खालको व्यवस्थापन गर्ने भन्ने बिषयमा नर्मल गर्भवतीजस्तो गरी जानुहुन्न । नर्मल गर्भावस्थामा उनीहरुले जसरी परीक्षण गर्छन् त्यसरी नभै महिनामै २ पटक अथवा त्योभन्दा बढी आवश्यकता अनुसार गर्नुपर्छ । कहिले कहिले हप्तामा एक दुई पटक नै बोलाउनुपर्ने हुन्छ । कतिपय अवस्थामा त अस्पतालमा भर्ना नै गरेर निगरानी गर्नुपर्ने हुन्छ ।

त्यसैगरी उच्च रक्तचाप भएका महिलालाई पनि बरोबर उच्च रक्तचापको परीक्षण गरी आवश्यकता अनुसारको उपचार गरेर तन्दुरुस्त राख्नुपर्छ । त्यस्तै आज्मा (दम) भएकाहरुलाई पनि विशेष निगरानीमा राख्नुपर्छ । यस्तो अवस्थाका गर्भवतीलाई विशेष गरी उच्च जोखिम अवस्था भनेर छुट्याउँछौ ।यसो गर्दा पहिलो गर्भवती महिलाको स्वास्थ्य अवस्था राम्रो बनाउँन सक्छौं भने दोस्रो राम्रो बच्चा दिन सक्छौं । यति उच्च जोखिम अवस्था पहिचान गर्न सकिएन भने गर्भवती महिला काम्ने, कोमामा जाने र ज्यानै पनि जानसक्छ । यस्तो अवस्थामा गर्भमा भएको बच्चा खेर जाने या मृत्यु समेत हुनसक्छ । यस्तो जोखिमलाई न्यूनीकरण गर्दै लैजान उच्च जोखिम अवस्थाको पहिचान गर्नुपर्छ ।

उच्च जोखिम अवस्थालाई विशेष प्राथमिकतामा राख्न धुलिखेल अस्पतालले के गर्दैछ ?

धुलिखेल अस्पतालमा यस वर्षदेखि नै फेलोसिप पनि शुरु गरेका छौं । उच्च जोखिम अवस्थाका धेरै गर्भवती छन् । यो अस्पतालमा सफलतापूर्वक व्यवस्थापन गरिरहेका छाैं । यही विधामा रहेर अध्ययन अनुसन्धान पनि गरिरहेका छाैं र कसरी राम्रो गर्न सकिन्छ भनेर त्यही अनुसारको व्यवस्थापन गरेका छाैं । उच्च जोखिम अवस्थाको छुट्टै वार्ड नै बनाएका छौं, उपचार सेवामा केन्द्रित हुनसकियोस् भनेर मोनिटर राखेर काम गरेका छौ । एचडियू पनि खोलेर गर्भाअवस्थामा दिनुपर्ने धेरैभन्दा धेरै सेवा दिएर विशेष निगरानीमा भर्ना गरेर राख्छौं । धुलिखेल अस्पतालले यस वर्षदेखि विस्तार गरेको यो नयाँ विधा अर्थात् नयाँ योजना र सोच सहितको काम हो ।

उच्च जोखिम अवस्थाका लागि खोलिएको फेलोसिप कस्तो कार्यक्रम हो ?

एकजना फेलो अर्थात उपयुक्त व्यक्ति चयन गरी फेलोसिप दिइन्छ । उनले २ वर्षको कोर्ष गर्नुपर्छ । उनले खासगरी उच्च जोखिम अवस्थाका गर्भवतीमा नै केन्द्रित भएर फेलोसिप गर्नुहुन्छ र व्यवस्थापन गर्नुहुन्छ । मैले उच्च जोखिम अवस्था गर्भवतीको व्यवस्थापनका विषयमा ८ वर्षअघि फेलोसिप गरेकी हुँ । अहिले धुलिखेल अस्पतालमै उच्च जोखिम अवस्थाका गर्भवतीका लागि फेलोसिप शुरु गरेर काम गर्न थालिएको छ । नेपालका लागि उच्च जोखिम अवस्थाको गर्भवती उच्च चुनौती नै हुन्छ ।

पहिलाभन्दा अहिले गर्भवतीहरुमा उच्च जोखिम अवस्था बढ्नुमा एक ढिलो विवाह कारण भएको बताउनुभयो, अरु कारण के छन् ?

पछिल्ला दिनमा गर्भवतीको उच्च जोखिम अवस्था बढेको छ । उच्च जोखिम अवस्थाको मूल कारण जीवनशैली, खानपान नै प्रमुख भएकाले यो बढ्ने भन्दा घट्ने सम्भावना अत्यन्तै कम छ । त्यसैले हामीले भविष्यमा हुनसक्ने जोखिम अवस्थाको बारेमा अहिले नै तालिम दिने र तालिम प्राप्त जनशक्तिबाट सजग बनाउँन सक्यो भने धेरै राम्रो हुन्छ । यस्तो क्रिटिकल कन्डिसनमा भोलि भन्नुहुन्न कुनैपनि बेला जे पनि हुनसक्छ । त्यस्तो अवस्थामा मेडिकल कन्डिसन्सले जटिल बनाएको छ भने भोलि जाउँला, पर्सि जाउँला भनेर बस्नु हुदैन ।

कतिपयलाई तपाईंलाई राम्रो हुँदैन भनेर रिफर गरेर पठाउँछन् । उहाँहरुलाई स्वस्थ आमा र स्वस्थ बच्चा दिनसक्दा हामी आफैलाई एकदम खुशी लाग्छ । एउटा आमालाई बचाउँनु भनेको एउटा घरलाई बचाउँनु हो । आमालाई केही भयो भने भर्खर जन्मेको सन्तान परिवारको अवस्था कस्तो हुन्छ ! गर्भवती अवस्थामा मधुमेह, उच्च रक्तचाप, पिसाबको संक्रमण, योनीको संक्रमण, रगतको संक्रमणजस्ता समस्या हुन्छ । त्यसबाहेक गर्भमा रहेको बच्चालाई उत्तिकै जोखिम हुन्छ । आजसम्म चलेको बच्चा भोलि चल्दैन । चिकित्सककोमा पुग्दा बच्चा पहिल्यै मृत्यु भैसकेको हुन्छ । आमाको परीक्षण गर्दा मधुमेह भएको पाइन्छ । यस्तो चीजहरुलाई पहिला नै थाहा पाउनका लागि स्क्रीनिङ पनि गर्छौं ।

गर्भवती भएको कति हप्तामा स्क्रीनिङ गरिन्छ ?

हरेक गर्भवती महिलालाई २४ देखि २८ हप्तामा मधुमेहका लागि स्क्रीनिङ गर्छौ । मधुमेह छ–छैन पत्ता लगाउँछौ । त्यस्तैगरी थाईरोइडमा पनि केन्द्रित गरेका छौं जसलाई हाईपोथाइरोरिजम छ त्यसलाई पनि युनिभर्सल स्क्रीनिङ नै गर्छौं । गर्भावस्थामा आएका हरेक महिलालाई यो परीक्षण गराइन्छ । धेरै महिलाहरुमा थाहै नपाई हाईपोथाईरोरिजम देखिएको छ । यस्तो समस्या भएका कतिको गर्भपतन हुने, उच्च रक्तचाप हुने, बच्चा जन्मिने समय हुनु अगावै साल छुटिने त्यसपछि बच्चाको मृत्यु हुनेहुन्छ । पहिला नै समस्या पहिचान भएमा सामान्य अवस्थामा ल्याएर बच्चालाई बचाउन सकिन्छ र आमा र बच्चामा हुने जोखिमलाई कमी गर्नसकिन्छ ।

बच्चाको हुनुपर्ने जति तौल नबढ्नुको कारण के हो ?

हो यो समस्या धेरै छ । गर्भावस्थामा तौल कम हुने बच्चाहरुमा ठूलो समस्या देखिन्छ । बच्चा नबढ्नुको कारण खोजेर सुधार ल्याउन सकिन्छ । त्यसैगरी बच्चा बस्ने घरमा जुन मात्रामा पानी हुनुपर्ने हो त्यो नहुँदा त्यसलाई पनि व्यवस्थापन गर्छौं । जोखिम बढ्नु, पहिचान गर्नु भनेको आमा र बच्चाको स्वास्थ्यमा रहेको समस्या पत्ता लगाउनु हो, त्यसलाई सुधारेर स्वास्थ्य राम्रो गर्न सकिन्छ । स्वस्थ आमा स्वस्थ बच्चा ।

पछिल्लो समय धेरै गर्भवती महिलाले नर्मल बच्चा जन्माउन सकिरहेका छैनन्, पानी कम भएकै कारण हो ?

यस्तो अवस्था हुनसक्छ तर व्यवस्थापन गर्न सकिन्छ । हाम्रो चाहना भनेकै उच्च जोखिम अवस्थालाई सुधार ल्याउन सकियोस् भन्ने नै हो । मंगलबार र शुक्रवार उच्च जोखिम अवस्था केन्द्रित क्लिनिक नै गर्छौं । यदि गर्भवती महिला उच्च जोखिम अवस्थामा छिन् भने उनको फाइलमै उच्च जोखिमको छाप लगाउँछौ । यसो गर्नाले उनीहरुको स्पेशल उपचार हुन्छ । हामीले शुरु शुरुमा यसोगर्दा केही बिरामीहरु डराएको पनि पाइयो तर डराउँनुपर्दैन । चिकित्सकले बिरामीको अवस्था जनाउने कागजात हेर्नासाथै पहिचान गरेर प्राथमिकतामा राख्न सजिलो होस् भन्ने उद्देश्यले यसो गरिएको हो । यसो गर्नाले गर्भवती जुन ठाउँमा पुगेपनि उपचारमा केन्द्रित हुन सजिलो हुन्छ । हामी चिकित्सकलाई पनि उनको र बच्चाको अवस्था राम्रो हुँदा सन्तुष्टि मिल्छ ।

बाल तथा मातृ मृत्युदर घटाउँन यो प्रकृयाले कत्तिको मद्दत गर्छ ?

यो सेवाले थप मद्दत पुग्छ । यसो गर्दा डिटेक्सन हुन्छ । उच्च जोखिम अवस्था केन्द्रित हुनु धेरै राम्रो हो । समस्या आइसकेपछि व्यवस्थापन गर्न स्पेशल वार्डमै राख्छौं । साथै, उनलाई राम्रोसँग सम्झाएर कहिले, कसरी अस्पताल आउने, के गर्नहुन्छ, के गर्न हुन्न, के खान हुन्छ, के खान हुन्न सबै सिकाएर पठाउँछांै । अर्को हाई डिपेन्डेन्सी युनिट छ त्यसबाट पनि विशेष सेवा दिइन्छ ।

नयाँ कार्यक्रम भएकोले गर्भवती महिला तथा परिवारलाई यसबारे बुझाउँन कठिन हुन्छ कि ?

जनचेतनाको स्तर विस्तारै वृद्धि हुँदैगएको अवस्था भएकाले अझै केही मेहनत गर्नुपर्ने देखिन्छ । गर्भवती महिलालाई मात्र नभै उनको साथमा आउने श्रीमान्, सासु, नन्द, आमा जो हुनुहुन्छ उहाँहरुलाई पनि राखेर परामर्श गर्छौं । समस्या के हो र उपचार नगरे के हुन्छ, गर्दा के हुन्छ भन्ने बुझाउँदा बुझ्नुहुन्छ । मधुमेह छ कि छैन भनेर गर्भवतीलाई परीक्षण गर्नुका साथै परामर्श दिंदै खानाको चाट नै उपलब्ध गराउँछौं । खानपान, व्यायाम, बच्चाको मुटुको जाँच लगायतका विषयमा परामर्श गरिन्छ ।

गर्भवती महिलाको उच्च जोखिम अवस्थाको लक्षण कति हप्तादेखि देख्न शुरु हुन्छ ?

मधुमेहको २४ देखि २८ हप्तामा परीक्षण गर्छौं । यो सेवा धुलिखेल अस्पतालमा सन् २००९ देखि नै शुरु गरेका थियौं । त्यतिबेला गर्भवतीमा मधुमेह हुनेको संख्या शून्य दशमलभ ७५ प्रतिशत थियो । दुई वर्ष अघि पुनः परीक्षणलाई निरन्तरता दिँदा अहिले ४ प्रतिशतमा देखिएको छ । यो अत्यन्तै बढेको छ हामीले स्क्रीन गरेर हे-यौं । थाइराइड पनि त्यस्तै छ । गर्भवती महिला पहिलो पटक अस्पताल परीक्षणमा आउँनासाथै सम्पूर्ण परीक्षण गर्छौं । यसको कारण त्यतिबेलै पहिचान गर्नसके उपचार हुन्छ ।

समयमै उपचार गर्न नसके गर्भपतन हुन्छ । हाइपोथाईरोडिजम आमालाई छ भने बच्चामा हुँदैन तर मन्द बुद्धिको हुन्छ । धेरै गर्भवतीमा थाइराइड देखिएकाले परीक्षण गरी समयमै उपचार गर्नु नै बुद्धिमानी हुनेछ । आमाले थाइराइडको औषधि खाइरहेकी छन् भने बच्चा जन्मेको ३ दिनपछि बच्चाको पनि थाईराईड परीक्षण गरिन्छ । यदि बच्चामा कुनै समस्या देखियो भने तत्काल उपचार शुरु गर्छौं । यसले दोहोरो फाइदा हुन्छ । उच्च रक्तचाप पनि नियमित परीक्षण गरेर व्यवस्थापन गर्न सकिन्छ ।

सबैलाई औषधि चलाउँनुपर्छ भन्नेहुन्न, त्यसैले भर्ना राखेर हेर्छौ । उच्च रक्तचाप भएका आमा र बच्चा दुबैलाई जोखिम हुन्छ । साल छुट्टिन थाल्छ । यसो हुनुको प्रमुख कारण साल र पाठेघरको बीचमा रगत जम्न थाल्छ । त्यसपछि बच्चाले सालबाटै प्राप्त गर्ने अक्सिजन नपाएर बच्चाको मृत्यु हुन्छ । आमालाई पनि उच्च जोखिम हुने, दिमागको नसा फुट्ने, एट्लान्सिया हुने हुनाले यस्तो अवस्थामा आमा र बच्चा दुबैलाई खतरा हुन्छ ।

धेरैले नर्मल बच्चा जन्माउने भन्दा अप्रेशन (सिएस) गर्न रुचाउँछन्, नर्मल र सिएसमा कुन राम्रो हो ?

नर्मल जस्तो राम्रो अरु हुनै सक्दैन । तर राम्रो हो भने सबैलाई किन नगराउने त भन्ने लाग्नसक्छ । कतिपय अवस्थामा बच्चा निस्कने घर सानो हुनु, बच्चाको टाउको ठूलो हुनु, आमाको शारीरिक अवस्था कमजोर हुनुजस्ता अवस्थामा आमा र बच्चा दुबै जोखिममा भएको अवस्थामा सिजरिङमा जानुपर्नेहुन्छ ।