संसद्मा अर्थमन्त्रीको राजीनामा माग फिर्ता बोलाउन पार्टीमा छलफल



काठमाडौंं  ।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई समावेश गराएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरिएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरूले शर्माको राजीनामा माग गरेका हुन् ।

एमाले सांसद योगेश भट्टराईले मध्य रातमा पूर्व नायव सुब्बालाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गराएको विषय गम्भीर भएको भन्दै अर्थमन्त्रीको राजीनामा माग गर्नुभयो । बजेट ल्याउने अघिल्लो दिन जेठ १४ गतेको मध्यरातमा अर्थमन्त्री शर्माले पूर्व नासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गरेको विषय बाहिरिएपछि सांसद भट्टराईले अर्थमन्त्रीको राजीनामा माग गर्नुभएको हो ।

यसैबीच नेकपा माओवादी केन्द्रमा अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउनेबारे छलफल शुरू भएको छ । पार्टीका शीर्ष नेताहरूका बिचमा अर्थमन्त्रीको काम कारवाहीको विषयलाई लिएर छलफल शुरू भएको बताइएको छ । माओवादीका एक नेताले नेपाल समाचारपत्रलाई शर्मालाई फिर्ता बोलाउने विषयमा अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराइएको जानकारी दिएका छन् ।

उनका अनुसार शीर्ष तहमा शर्माको विकल्प खोज्ने विषयमा मोटामोटी सहमतिसमेत जुटिसकेको छ । पार्टीभित्र अर्थमन्त्रीको विकल्प खोज्नुपर्ने कुरा उठेलगत्तै अध्यक्ष प्रचण्डले आइतबार नै शर्मालाई आफ्नो निवास खुमलटार बोलाएर छलफल गर्नुभएको थियो । अर्थतन्त्र संकटमा रहेका बेला त्यसलाई सम्हाल्ने गरी काम गर्न नसकेको भन्दै शर्माको माओवादीभित्रै र सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र पनि आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्