समितिले बोलायो प्रधानमन्त्रीलाई

0
Shares

काठमाडौं । 

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको विषयमा छलफल गर्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिले असार ५ गतेको बैठकमा प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय गरेको छ ।

समितिकी सभापति पवित्रा निरौला खरेलले त्यसअघि समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छलफल गर्ने निर्णय भएको बताउनुभयो । निकट भविष्यमै हुन लागेको भनिएको प्रधानमन्त्रीको भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले चासो राख्दै आएको छ ।

यसैबीच नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमणबारे संसद्, समिति र नागरिकलाई जानकारी दिनुपर्ने जिकिर गर्दै भन्नुभयो– ‘विदेश भ्रमणमा कुनै पनि अनुचित कामहरू हुनुहुँदैन ।’

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा धेरै प्रश्नहरू उठेकोले प्रधानमन्त्रीले संसद, समिति र देशलाई जानकारी दिनुपर्ने बताउनुभयो । परराष्ट्र नीतिको विषयमा कुनै पनि किसिमको दबाब र धम्की स्वीकार्य नहुने बताउँदै उहाँले परराष्ट्रमन्त्रीले अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा छलफलमा उपस्थिति भएर वर्तमान सरकारको अन्तर्राष्ट्रिय नीतिको विषयमा जानकारी गराउनुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले विदेशी सेना नेपालमा आएर बस्नु गम्भीर विषय रहेको भन्दै समितिमा सरकारको ध्यानाकर्षण गर्न माग गर्नुभयो ।कुनै पक्षमा नलाग्ने देशको असंलग्न परराष्ट्र नीतिमा सरकार अविचलित रूपमा अगाडि बढ्नुपर्ने र सरकारले आफ्नो नीतिका विषयमा सबैलाई स्पष्ट पार्नुपर्नेमा जोड दिंदै नेपालले भन्नुभयो– ‘यो मामिलामा कुनै किसिमको दबाब र धम्की हामीलाई स्वीकार्य हुन सक्दैन ।’