महिला र पछाडि परेका समुदायको भरोसा बन्दै जाल्पा लाघुवित्त



बुटवल ।

२०६० सालदेखि क्रियाशील सिर्जना विकास केन्द्र पोखरा र नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही नामक दुई संस्थाले विसं २०७५ सालमा नेपाल राष्ट्र बैंकबाट लघुवित्तीय कारोवारको अनुमति पाएको संस्था हो ।

यीदुई संस्थाहरूबीच विसं २०७७ साल मंसिर १६ गते मर्जर भई बनेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बुटवलमा केन्द्रीय कार्यालय शुभारम्भ गरेको छ । कार्यालयको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शुभारम्भ गर्नुभएको हो ।सो अवसरमा प्रदेश प्रमुख शेरचनले आर्थिक समृद्धि र विपन्नतालाई उत्पादनमा जोडने यस्ता वित्तीय संस्थाहरूले महिला र पछाडि परेका समुदायको आय आर्जनमा टेवा पु-याउनुपर्ने बताउनुभयो । बिनाधितो समूहमा लगानी गर्ने विषय चुनौतीपूर्ण रहँदा रहँदै पनि चुस्त दुरुस्त व्यवस्थापकीय र संस्थाको विश्वासिलोपनाले यस्ता संस्थाको महत्व बढ्दै गएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले नगरमा रहेका १ लाख बेरोजगार महिलालाई गृहिणी महिला रोजगार कार्यक्रम सञ्चालन गरी उनीहरूलाई आय आर्जनमा लगाउने लक्ष्य अगाडि सारेको बताउनुभयो । ती महिलालाई सिप सिकाउने र उनीहरूले उत्पादन गरेको वस्तु कोशेली घरमार्फत् खरिद गर्ने व्यवस्था मिलाउने बताउँदै उहाँले उनीहरूलाई आवश्यक पर्ने लगानी यस्ता लघुवित्तीय संस्थाको सहयोग जरुरी रहने धारणा राख्नुभयो ।

कार्यक्रममा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाकी प्रमुख कार्यकारी अधिकृत विमला योगीले परिवारमा आर्थिक सहयोग नपाएका, धितो नभएकाले वित्तीय पहुच नहुँदा ऋण लिन नसक्ने महिला तथा पछाडि परेका सीमान्तकृत समुदायहरूको आर्थिक उपार्जनमा संस्थाले सहयोग गर्ने बताउनुभयो ।महिलाहरूलाई वित्तीय सांक्षरताको माध्यमबाट व्यावसायिक सीप प्रदान गर्दै सामाजिक रूपमा सचेत, संगठित र उहाँहरूलाई सशक्त बनाउँदै आर्थिक रूपमा आत्मनिर्भर बनाउने ध्येयका साथ संस्था अगाडि बढेको प्रमुख कार्यकारी अधिकृत योगीले बताउनुभयो ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका अध्यक्ष वीरबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रूपन्देहीका सभापति रामराज पोखरेल, सृजनाविकास केन्द्र अध्यक्ष ईन्द्रप्रसाद पौडेल, पे्रमबहादुर पाठकलगायतले समाज र महिलालाई आर्थिक रूपमा सबल बनाउने लक्ष्य लिएका लघुवित्तहरूले गरेको लगानीमा समूह नै जिम्मेवार हुनु पर्नेमा जोड दिनुभएको थियो । यस संस्थाले मुलुकका २८ जिल्लामा ९६ शाखा कार्यालयमार्फत् सेवाप्रदान गर्दैै आएको कम्पनी सचिव अशोककुमार आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्