आइटममा मायाको रेडियो

0
Shares

आगामी कात्तिक २५ गते रिलिज हुने फिल्म वेलकम टु हेम्जाकोटको आइटम गीत मायाको रेडियो राजधानीमा आयोजित कार्यक्रमबीच सार्वजनिक गरिएको छ।
सरोज पौडेलको लेखन र निर्देशनमा बनेको फिल्मको आइटम गीतमा विनोद न्यौपाने र एलिशा शर्मालाई फिचरिङ गरिएको छ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा उदेश श्रेष्ठ र इन्दिरा जोशीको स्वर, राज सागरको संगीत र प्रज्ज्वल अधिकारीको शब्द रहेको छ। कार्यक्रममा संगीतकार सागरले सबैलाई मनपर्ने खालको गीत तयार गरेको बताए। गायक उदेशले लोफरपछि आफू यही फिल्मबाट पुनः पाश्र्व गायनमा फर्किएको बताए। निर्देशक पौडेलले निकै मिहिनेतका साथ फिल्म तयार पारेकाले आमदर्शकको मन जित्नेमा ढुक्क रहेको बताए।

फिल्मका प्रमुख अभिनेता विनोद न्यौपानेले वेलकम टु हेम्जाकोट रमाइलो फिल्म बनेको जनाउँदै फिल्म सुटिङ पूरा गर्न कोरोनालगायत धेरै अवरोध आए पनि फिल्म हेर्दा ती दुःख भुलेको सुनाए। नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा फिल्मकी प्रमुख अभिनेत्री अम्बिका तामाङ, सुजैरा कार्की, अस्मिता पन्त, विशाल पहाडी, शारदा गिरीलगायतले फिल्मका विविध विषयमा जानकारी गराएका थिए।

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा तेजप्रसाद दाहाल प्रस्तुति तथा सुमन खड्का कार्यकारी निर्माता र जितेन्द्र गिरी निर्माता रहेको फिल्ममा बुद्धि तामाङ, रवि गिरी, सन्दीप सिग्देल, स्व. जयनन्द लामालगायतले पनि अभिनय गरेका छन्। प्रवीण राई, रीता परियार, रमेश चापागाई, सुदीप पोखरेल, सुनील पोखरेल, महेश प्रसाईं, आइतराम तामाङ, सशांक खड्का, गोपाल सानु र युवराज कट्वाल सहनिर्माता रहेको फिल्म गुरुङले खिचेका छन्।