बसन्त महर्जनको पुस्तक ‘बुद्ध विमर्श’ प्रकाशित

0
Shares

काठमाडौं ।

बुद्ध र बौद्ध धर्म–दर्शनसम्बन्धी अध्ययनअनुसन्धान र लेखनमा सक्रिय लेखक बसन्त महर्जनको एघारौं बौद्ध पुस्तक ‘बुद्ध विमर्श’ प्रकाशित भएको छ ।

बुद्ध भनेका गौतम बुद्ध एक जना मात्रै नभएर विगतमा बोधि (ज्ञान) प्राप्त गर्ने अनेकौं नामका अन्य बुद्धहरु पनि रहेको र ती बुद्धहरुको पनि बौद्ध समाजबाट आदरसत्कार हुने जानकारी पुस्तकमा परेको छ । यसरी नै बज्रयानी बौद्ध समाजमा प्रचलित ‘पञ्चबुद्ध’ को अवधारणा प्रस्तुत गर्दै तिनीहरु मानव बुद्ध नभएर बौद्ध दर्शनलाई बुझ्न र बुझाउन ध्यानसाधनाबाट सिर्जना गरिएका प्रतीक वा ध्यानीबुद्ध रहेको कुरा पनि पुस्तकमा उल्लेख गरिएको छ ।

गौतम बुद्धको दैनिक जीवन चर्या कस्तो थियो ? उनका गुरु को थिए अथवा थिएनन् रु कसरी बोधि लाभ गरी बुद्ध बने? बुद्धसँग भिक्षु बन्ने पहिलो र अन्तिम व्यक्ति को थिए ?  किन तिनीहरु पहिलो र अन्तिम भएको ? भन्ने प्रश्नहरुको जवाफ पुस्तकमा विवेचनासहित उल्लेख गरिएको छ । बुद्धसँग के कस्ता खुबीहरु थियो ? बुद्ध भनेकैं के हो ? भन्नेजस्ता महत्वपूर्ण प्रश्नहरुको जानकारी दिनुका साथै पुस्तकमा गौतम बुद्धको जीवनका विविध पक्षलाई उजागर गर्ने विभिन्न सन्दर्भ र प्रसङ्गलाई पुस्तकमा स्थान दिइएको छ ।

यसरी नै बुद्धसँगको जीवन यात्रामा साथ दिने अग्रणी नेपालीहरुको उल्लेख नेपाली समाजका लागि थप रोचक र छलफलको विषय हुने देखिन्छ । बुद्धत्व प्राप्तिका लागि गौतम बुद्धले गृहत्याग गरी श्रीमती यशोधरालाई विचल्ली बनाएको भन्ने गैर बौद्ध समाजमा प्रचलित कथनको खण्डन गर्दै पुस्तकमा परिवार तथा नातागोतासँग सरसल्लाहपछि मात्रै गृहत्याग गरेको र बुद्धत्व प्राप्तिपछि परिवारका अन्य सदस्यले जस्तै पछि श्रीमतीले पनि बुद्धको संघमा प्रवेश गरी भिक्षुणी जीवन विताएको जानकारी पनि पुस्तकमा समावेश गरिएकाे छ ।

लेखक बसन्त महर्जनका अनुसार बुद्ध, शिक्षा र गलत बुझाई गरी तीन खण्डमा विभाजित यस पुस्तकमा समाविष्ट सामग्रीहरु बुद्ध र बौद्ध धर्म–दर्शन बुझ्नका लागि आधारभूत ज्ञान हो । पुस्तक इन्साइट पब्लिकेशन प्रा.लि.बाट प्रकाशन भएको हो । १७६ पृष्ठको यस पुस्तकको मूल्य तीन सय पचास रुपैया रहेको छ ।