काठमाडौंको फोहोर विसर्जन विवाद : बञ्चरेडाँडा संघर्ष समिति र सहरी विकास मन्त्रालयबीच शुक्रबार वार्ता हुने

0
Shares

काठमाडौं । काठमाडौंको फोहोर विसर्जनको विवाद उत्कर्षमा पुगेपछि बञ्चरेडाँडा संघर्ष समिति र सहरी विकास मन्त्रालयबीच भोलि (शुक्रबार) वार्ता हुने भएको छ । उक्त विवाद समाधान हुनुको साटो झन् उत्पकर्षमा पुगेपछि दुई पक्षबीच वार्ता हुने भएको हो ।

मंगलबार प्रहरी बल प्रयोग गरी काठमाडौंको फोहोर विसर्जन गरेपछि बञ्चरेडाँडाका स्थानीयबासी र प्रहरीबीच विवाद भएको थियो । स्थानीयबासीको बिना सहमति काठमाडौंको फोहोर बञ्चरेडाँडामा विसर्जन गरेपछि उत्पन्न विवाद सुल्झाउन सरकार र आन्दोलनरत पक्षबीच शुक्रबार वार्ता हुने भएको छ ।

वार्तामा सरकारको तर्फबाट सहरी विकास मन्त्री रामकुमारी झाँक्री, आन्दोलनरत संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, फोहोरमैलाबाट प्रभावित नुवाकोट र धादिङका वडाध्यक्ष, नुवाकोटका कांग्रेस नेता प्रकाशशरण महत लगायत सहभागी हुने बताइएको छ ।

सोमबार सहरी विकास मन्त्रालय नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिका जनप्रतिनिधिलाई राखेर बञ्चरेडाँडामा फोहोर विसर्जन गर्ने सहमति गरिएको थियो । सम्झौता पत्रमा हस्ताक्षर गर्दा स्थानीय बासिन्दालाई संलग्न गराइएको थिएन ।