सामुदायिक विद्यालयमा नीयमविपरीत विद्यार्थीबाट मनपरी शुल्क असुली

0
Shares

रौतहट । विद्यार्थीसँग शुल्क लिन नपाउने सरकारी नीयमविपरीत गौरको एक सामुदायिक विद्यालयले महंगो शुल्क असुल्दै आएपछि गौर नगरपालिकाले अनुसन्धान थालेको छ ।

सदरमुकाम गौरमा रहेको जुद्ध माध्यमिक विद्यालयले विद्यार्थीसँग विद्यालय सहयोग अनुदान शीर्षकमा २ हजार ४ सय रुपियाँ असुल्दै आएको गुनासोको आधारमा गौर नगरपालिकाले छानविन अघि बढाएको हो ।

सामुदायिक बिद्यालयमा विद्यार्थी संख्या घट्दै गइरहेको बेला जुद्ध माध्यमिक विद्यालयले चर्को शुल्क उठाएर विद्यार्थीलाई मानसिक तनाब दिएको अभिभावकको गुनासो रहेको छ । निःशुल्क शिक्षा पाउनुपर्ने मौलिक हकविपरित विद्यालयले चर्को शुल्क लिँदा अभिभावक तथा विद्यार्थी मर्कामा पर्दै आएका छन् ।

विद्यालयका प्राधानाध्यापक चन्देश्वर राउतले पुरानो बक्यौता रकम असुल गरेको बताए । विद्यालय ब्यबस्थापन समितिको ०७८ कार्तिक १६ गते भएको निर्णयअनुसार ०७८ कार्तिकसम्मको ७ महिनाको शुल्कमध्ये ४ महिनाको शुल्क साविककै दरमा लिने र कक्षा ९ को रजिष्ट्रेशन शुल्क तथा कक्षा १० को परीक्षा आवेदन फाराम बापतको शुल्क विद्यार्थीबाट असुल गर्ने रहेको छ ।

विद्यालयले असुल गरेको बिलप्याड एउटै नम्बरको तीन वटासम्म ठेली भेटिएको गौर नगरपालिकाले जनाएको छ । गौर नगरपालिकाका प्रमुख शम्भु साहले विद्यालयले मनलाग्दी शुल्क लिएको गुनासोको आधारमा छानविन अघि बढाइएको बताए ।