नेपालको वन व्यवस्थापनसम्बन्धी पुस्तक लोकार्पण

0
Shares

काठमाडौं  । 

नेपालको अर्थतन्त्रमा वनको व्यवस्थापनको महत्वपूर्ण भूमिका छ । ‘हरियो वन, नेपालको धन’ भन्ने नाराले पनि देशको अर्थतन्त्रमा वनको महत्वपूर्ण भूमिकालाई प्रष्ट पारेको छ । तर नेपालको वन व्यवस्थापनको बारेमा जान्न चाहने जो कोहीका साथै विद्यार्थीहरूलाई पनि नेपाली वन व्यवस्थापनसम्बन्धी पुस्तकको अभाव छ । यही अभावलाई केही हदसम्म परिपूर्ति गर्ने उद्देश्यका साथ लेखिएको पुस्तक ‘थ्यौरी एण्ड प्राक्टिस अफ फोरेष्ट म्यानेजमेन्ट ईन नेपाल’ पुस्तकको आज काठमाडौंमा लोकार्पण भएको छ ।

४ दशकभन्दा लामो समयसम्म वन क्षेत्रमा काम गर्नुभएका वन वैज्ञानिक डा. स्वयम्भुमान अमात्य, हस्त बहादुर थापा र डा. बलराम भट्टद्वारा लिखित उक्त पुस्तकको कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. पूण्यप्रसाद रेग्मीले लोकार्पण गर्नुभएको थियो । उपकुलपति रेग्मीले उक्त पुस्तक नेपालको वन व्यवस्थापनबारे रुची राख्नेहरूका साथै वन व्यवस्थापनका विद्यार्थी र प्राध्यापकहरूका लागि निकै उपयोगी हुने बताउनुभयो । उहाँले विश्वविद्यालयमा वन व्यवस्थापनबारे पढाइ भइरहेको भए तापनि नेपालको वन व्यवस्थापनबारे लेखिएको पुस्तकको अभाव रहेको जिकिर गर्दै उक्त पुस्तकलाई पठ्यक्रमको रुपमा समेत प्रयोग गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा पुस्तकका लेखक डा. अमात्यले दुई वर्षभन्दा पनि बढी समय लगाएर लेखिएको उक्त पुस्तकमा नेपालको वनको प्रकार, वन व्यवस्थापनको इतिहास, वैज्ञानिक वन व्यवस्थापन कार्यविधि–२०७१, वनको दीगो व्यवस्थापन, लागि रुख कटान र काठ व्यापारलगायतका विषयहरूलाई १० च्याप्टरमा समेटिएको जानकारी दिनुभयो । कृषि तथा वन विज्ञान विश्वविद्यालयले प्रकाशन गरेको उक्त पुस्तकले वन व्यवस्थापनमा नेपालले अपनाइरहेको अभ्यासको बारेमा विस्तृत जानकारी दिंदै दीगो वन व्यवस्थापनका लागि गर्नुपर्ने कामहरूका बारेमा सुझाव दिइएको छ ।