निर्वाचनको आन्तरिक तयारीमा जुट्दै आयोग

0
Shares

काठमाडौं ।

आउँदो असार १ गतेदेखि मतदाता नामावली संकलन गर्ने निर्णयसँगै निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको आन्तरिक तयारी अघि बढाएको छ ।
सरकारले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनको मिति असारको दोस्रो सातातिर तोक्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै आयोग निर्वाचनको आन्तरिक तयारीमा जुटेको हो ।

आयोगले अहिले मतदाता नामावली संकलनको गृहकार्यसँगै निर्वाचनसम्बन्धी कार्यविधि, नियमावली परिवर्तन गर्ने, मतदानस्थलको विवरण अध्ययन गर्ने कार्य गरिरहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।‘कानुनतः निर्वाचनको मिति आयोगसँग परामर्शमा सरकारले तोक्नेछ । सरकारले बोलाएको बखत निर्वाचनको मिति, एकै चरण वा दुई चरणमा निर्वाचन गर्न विषयमा आयुक्तहरूसँग छलफल गरिरहेका छौं’ –प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भन्नुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले सरकार र राजनीतिक दलहरूले अनौपचारिक रूपमा निर्वाचन मितिबारे परामर्श गरिरहेका बेला आयोगले आफ्नो हिसाबले गृहकार्य गरिरहेको बताउनुभयो ।

अनौपचारिक रूपमा सरकारका तर्फबाट मन्त्रीहरू र राजनीतिक दलबाट कहिले उपयुक्त हुन्छ भनेर चासो राखिएको उल्लेख गर्दै थपलियाले निर्वाचन कात्तिकको अन्तिम साता या मंसिरको पहिलो सातामा उपयुक्त हुने बताउँदै आएको पनि जानकारी दिनुभयो । मंसिर १५ गतेभिमा निर्वाचन गरिसक्नुपर्ने आयोगले भन्दै आएको छ ।संविधानमा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल निर्वाचन भएको मितिदेखि पाँच वर्ष कार्यकाल भनेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा २०७४ साल मसिर १० र २१ गते भएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐनको आधारमा निर्वाचित भएको अवधिबाट कार्यकाल पाँच वर्ष भनिएकाले आयोगले मंसिर २२ लाई कार्यकाल सकिने दिन भनेको छ । त्यसपछि फागुनमा राष्ट्रपति र उपराष्ट्रपतिको समेत निर्वाचन गर्न सकिने आयोगको भनाइ छ ।

आयोगले प्रारम्भिक रूपमा एकै चरणमा निर्वाचन सम्भव हुने निष्कर्ष निकालेको थपलियाले जानकारी दिनुभयो । उहाँले स्थानीय तह निर्वाचनमा धेरै मतदानस्थल र मतगणनास्थलको सुरक्षा गर्नुपर्ने भएकाले सुरक्षा कमजोरी देखिए पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भने मतदानस्थल र मतगणनास्थल कम हुने भएकाले सम्भव हुने बताउनुभयो ।सरकारले सुुरक्षाको बन्दोबस्त मिलाएको अवस्थामा एकै चरणमा निर्वाचन सम्भव हुने जनाउँदै उहाँले कम खर्चमा निर्वाचन गर्न सकिने बताउनुभयो ।