आधा दर्जन कलाकर्मी प्रज्ञा पुरस्कारबाट पुरस्कृत

0
Shares

आधा दर्जन कलाकर्मी राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुरस्कृत भएका छन्। कलाकर्मीहरु नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा राष्ट्रपति भवनमा आयोजित कार्यक्रमका बीच नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ बाट पुरस्कृत भएका हुन्।

सो अवसरमा राष्ट्रपति भण्डारीले प्रतिष्ठानले आफ्नो १२औँ वार्षिकोत्सवका अवसरमा घोषणा गरेका पुरस्कार प्रदान गरेकी हुन्। समारोहमा संगीत तथा नाट्य क्षेत्रका आधा दर्जन कलाकर्मीलाई पुरस्कृत गरिएको छ ।

प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठको सभापतित्व तथा राष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रंगमञ्च विधामा रंगकर्मी ऋद्धिचरण श्रेष्ठ, नाट्य विधामा नाट्यकर्मी मनबहादुर मुखिया, संगीत विधामा मोहनकृष्ण कार्की ढली, लोक संगीत विधामा अमर विरही गुरुङ, परम्परागत तथा शास्त्रीय संगीत विधामा जलतरंग वादक मोहनप्रसाद जोशी र नृत्य विधामा नृत्य निर्देशक वीणा राजभण्डारी जोशीलाई जनही एक लाख एक रुपियाँसहित नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ बाट पुरस्कृत गरिएको छ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाली मौलिक कलाको खोजी गर्दै तिनलाई अन्तर्राष्टियस्तरसम्म पु-याउनु प्रतिष्ठानको दायित्व भएको चर्चा गर्दै पुरस्कृत कलाकर्मीलाई सम्मान गर्न पाउँदा हर्ष प्रकट गरिन्।

कुलपति नारायणभक्त श्रेष्ठले प्रज्ञा प्रतिष्ठानले गरेका गतिविधिका बारेमा जानकारी गराउँदै अब छिद्मै नै भाडाको घरबाट आफ्नै प्रशासनिक भवनमा सरेर आगामी गतिविधिलाई निरन्तरता दिने जानकारी गराए। उपकुलपति हरिहर शर्माले समारोहका अतिथिहरुलाई स्वागत गर्र्दै प्रतिष्ठानको स्थापना र उद्देश्यमाथि प्रकाश पारे।प्रतिष्ठानका सदस्य सचिव श्याम तमोटले सहजीकरण गरेको कार्यक्रममा विभागीय प्रमुखहरुले कलाकर्मीहरुलाई प्रदान गरिएको ताम्रपत्र वाचन गरेर सुनाएका थिए।