शहरी गरिबप्रति समर्पित ललितपुरको वडा



ललितपुर ।

ललितपुर महानगरपालिका– ३ ले शहरी गरिबका लागि धारा, बत्ती र शिक्षाको निशुल्क व्यवस्था गरिदिने भएको छ ।
वडाले जनहितका कार्यहरु अन्तर्गत सो निर्णय गरेको हो। वडाको पहिलो बैठकले जनहितका कार्यहरु भन्दै विभिन्न कार्यक्रम घोषणा गरेको थियो। त्यस्ता कार्यहरुमा कुनै औपचारिक वा धेरै स्रोत खर्च हुने ठूल ठूला कार्यक्रम नभई स–साना तर नागरिकको दैनिक जीवनमा छुने शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा कार्यक्रमहरु रहेका छन् ।

घरघरमा पीउन खानेपानी छ वा छैन भनि जाँच गरी आर्थिकस्तर कमजोर भएका परिवारको लागि सो व्यवस्था गर्न वडाले पहल गर्ने निर्णय गरिएको वडाअध्यक्ष श्रीगोपाल महर्जनले बताउनुभयो ।

नेपाल विधुत प्राधिकरण र खानेपानी संस्थानसंग समन्वय गरी वडाले धारा र बत्तीको व्यवस्था गरिदिने बताउँदै वडाअध्यक्ष महर्जनले भन्नुभयो ‘ आर्थिक स्तर कमजोर भएका विधार्थीलाई पढ्न सघाउने पनि वडाले निर्णय गरेको छ । कसरी सहयोग गर्ने भन्ने विषयमा पछि ठोस कार्यक्रम ल्याउने छौं ।’

वडाबासीको सहजको लागि सामूहिक चुडाकर्म गर्ने पनि वडाले निर्णय गरेको छ । ‘ वडाबासीले आफूले मान्दै आएका संस्कार र परम्परा अनुसार ब्रतबन्ध वा चुडाकर्म गर्न चाहेमा वडाले त्यसको निशुल्क व्यवस्थापन गरिदिने छौं ।’ वडाअध्यक्ष महर्जनले भन्नुभयो ‘ तडकभडक नगरी मितव्ययी तरिकाले कर्मसंस्कारका लागि वडाबासीलाई प्रेरित गर्न ती कार्यक्रहरु ल्याएको हो । यसले सांकेतिक रुपमा सामाजिक व्यवहार सुधार गर्नुपर्ने सन्देश प्रवाह गर्ने छ ।’

वडाले स्वास्थ्य क्षेत्रमा विविध कार्यक्रम ल्याएको छ । ती कार्यक्रमहरुमा स्वास्थ्य उपचारमा रक्तसञ्चार सेवा केन्द्रबाट निशुल्क रगत दिने र वर्षमा एक पटक निशुल्क स्वास्थ्य परीक्षण गर्ने, कडा तथा दीर्घ रोगीको लागि औषधि वितरण गर्ने, अपांगता भएका व्यक्तिको लागि औषधी तथा सामान वितरण गर्ने र रोग लाग्न नदिन जनचेतनामूलक कार्यहरु छन्।

त्यस्तै विपन्न एकल पुरुष भत्ता वापत मासिक ३ हजार रुपैयाँ प्रदान गरिने, विपन्न ज्येष्ठ नागरिकको जन्मदिनमा उपहार स्वरुप एक हजार रुपैयाँप्रदान गरिने निर्णयमा उल्लेख गरिएको छ ।

शववाहन निशुल्क प्रयोग गर्नुका साथै ३५ दिनभित्र मृत्यू दर्ता गराएमा सहयोग स्वरुप २ हजार ५ सय उपलब्ध गराउने पनि वडाले जनाएको छ । हाल महिला समूह मार्फत मःम पसल सञ्चालन गरेको वडाले उद्यमशील स्वरोजगार कार्यक्रमहरु पनि ल्याउने जनाएको छ । ‘ यस कार्यबाट वडाबासीले दैनिक जीवनमा वडाको भूमिकालाई अनुभव गर्न सक्ने विश्वास गरेको छु ।’ वडाअध्यक्ष महर्जनले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्