काभ्रे ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकले नागरिकहरुलाई प्रदान गरेको सेवाका सन्र्दभमा उच्च अदालत पाटनले निरिक्षण अनुगमन गरेको छ । उच्च अदालतका न्यायाधिश दिपेन्द्रबहादुर बमको टोलीले जिल्ला अदालतमा गरेका न्याय सम्पादनका बारेमा निरिक्षण गरेको हो ।
अदालत भित्र प्रवेश गरेका सेवाग्राहिहरुलाई सहज न्याय दिन भईरहेका प्रयास र समस्याका बारेमा जानकारी लिने र आगामी दिनमा त्यसलाई सुधार गर्न उपल्लो निकायबाट गर्नु पर्ने भूमिकालाई अझै बढाउने छौं’–उच्च अदालत पाटनका न्यायाधिश दिपेन्द्रबहादुर बमले भन्नुभयो–‘प्रारम्भिक निरिक्षणका क्रममा थोरै जनशक्ति र पर्याप्त स्रोत साधनको अभावका बीच पनि न्याय सम्पादनमा खेलेको भुमिका उल्लेख्य देखियो । जिल्ला अदालत काभ्रेपलाञ्चोकका न्यायाधिश, रजिस्ट्रार र कर्मचारीहरुलाई थप उत्साहका साथ कार्य गर्न सहजिकरण गर्नेछु ।’
जिल्ला न्यायाधिश मोहनराज भट्टराईले जिल्ला अदालतमा पूर्वाधार अभावका कारण सेवामा असहजता भएको, दरवन्दी अनुसार न्यायाधिश नहुँदा मुद्दामा प्रभाव परेको बताउँदै त्यसका बाबजुत पनि न्याय सम्पादनमा ढिलाई नभएको बताउनु भयो । कोभिड महामारी, निर्वाचन तथा अन्य कारण न्यायको प्रकृया केहि ढिलाई भएको जस्तो भए पनि अदालतको तर्फबाट ढिलाई नभएको जिल्ला न्यायाधिश भट्टराईले बताउनु भयो । ‘मुद्दाको ढिलाई विभिन्न कारणबाट हुने गरेको छ’–न्यायाधिश भट्टराईले भन्नुभयो–‘तामेली नहुँदासम्म मुद्दाको किनारा लाग्न सम्भव छैन ।
पर्याप्त प्रमाणहरु बुझ्नु पर्ने र समयमै त्यस्ता प्रमाण संकलन नहुँदा पनि ढिलाई हुने गरेको छ ।’न्यायाधिश महेन्द्रराज काफ्लेले जस्तोसुकै संकटमा पनि न्यायालयले नागरिकहरुलाई न्याय प्रदान गरिरहेको बताउनु भयो । ‘हाम्रो प्रमुख उदेश्य नै न्याय प्रदान गर्नु हो’–न्यायाधिश काफ्लेले भन्नुभयो–‘नागरिकहरुलाई सहज न्याय प्रदान गर्न हामी तत्पर छौं ।’ श्रेस्तेदार उप सचिव गोविन्द घिमिरेले जिल्ला अदालतमा भईरहेका गतिविधि र अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।
जिल्ला अदालतले पूर्वाधार अभावका कारण ब्यहोर्नु परेको संकट, तामेलदारहरुले न्युन भत्ताका बाबजुत मुद्दा तामेल गरिरहेको अवस्था र समस्या, मुद्दाको चाप र नागरिकहरुका गुनासालाई सम्बोधन गर्न भईरहेका प्रयासका बारेमा जानकारी गराउनु भएको थियो । जिल्लाको विकट क्षेत्र महाभारत, खानिखोला तथा अन्य पालिकाहरुमा म्याद तामेलीमा जाँदा कठिनाई भएको, उपलब्ध गराईएको मासिक १ हजार ८ सय रुपैयाले सम्भव नभएको, फैसला कार्यान्वयनका लागि सरोकारवाला निकायको सक्रियता बढाईएको श्रेस्तेदार घिमिरेले जानकारी गराउनु भएको थियो ।
चालु आर्थिक वर्षको जेठ २२ गतेसम्म जिल्ला अदालतमा २ हजार ७ सय १ मुद्दा मध्ये १ हजार ५ सय ४५ वटा बाँकी रहेका छन् । दर्ता भएका मध्ये ४२ प्रतिशत मुद्दा चालु वर्ष भित्रै फछ्र्याैट भईसकेको श्रेस्तेदार घिमिरेले बताउनु भयो । श्रेस्तेदार घिमिरेले १ हजार १ सय ३४ वर्ष २ महिना ३ दिन कैद र ६३ करोड ३३ लाख ६५ हजार जनरिवना असुल गर्न बाँकी रहेको जानकारी दिनु भयो ।
निरिक्षणका क्रममा नेपाल बार एशोसिएसन काभ्रे इकाईका अध्यक्ष विष्णुप्रसाद सापकोटा, जिल्ला न्याय क्षेत्र समन्वय समितिका सदस्य मोतीराम तिमल्सिना लगायतले अदालतको सेवामा भएको सुधारले नागरिकहरुले सहजता महसुस गरेको बताउनु भएको थियो । निरिक्षणका क्रममा उच्च अदालतका न्यायाधिश दिपेन्द्रबहादुर बम, उप रजिस्ट्रार कृष्णशरण लामिछाने र अन्य कर्मचारी सहभागि हुनुुहन्छ । उहाँहरुले अदालतमा दर्ता भएका मुद्दा, त्यसको ब्यवस्थापन तथा फैसलाको अभिलेख र अवस्थाका बारेमा निरिक्षण गरेर सुझाव दिनेछ ।
प्रतिक्रिया