भारतीय मन्त्री मण्डावियाद्वारा खाद्य प्रयोगशालाको उद्घाटन

0
Shares

काठमाडौं । भारत सरकारका स्वास्थ्य एवं परिवार कल्याण मन्त्री डा. मनसुख मण्डावियाले भारतको रक्सौलस्थित राष्ट्रिय खाद्य प्रयोगशालाको आइतबार उद्घाटन गर्नुभएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री महीन्द्र राय यादवको उपस्थितिमा उक्त प्रयोगशालाको उद्घाटन गर्नुभएको हो ।

भारतीय खाद्य संरक्षा एवम् मानक प्राधिकरण (एफएसएसएआई)द्वारा स्थापित राष्ट्रिय खाद्य प्रयोगशाला भारत प्रवेश गर्ने खाद्य नमुनाको परीक्षणका लागि सुविधा सम्पन्न आधुनिक प्रयोगशाला हो ।

यस प्रयोगशालाले नेपालको खाद्य र कृषि निर्यातको नमुना परीक्षणमा लाग्ने समयको बचत गरी भारत र नेपालबीचको द्विपक्षीय व्यापार बढाउन सहयोग गर्ने बताइएको छ ।

विगतमा खाद्य नमुना परीक्षणका लागि दिल्ली वा कोलकाता पठाउनुपर्ने अवस्था टरेको छ । लामो समयदेखि नेपाली व्यापारीले रक्सौलमा स्तरोन्नत खाद्य प्रयोगशालाको निर्माणका लागि माग गर्दै आएका थिए । अहिले सो माग पूरा भएको छ ।

यस प्रयोगशालाको निर्माण “छिमेकी पहिलो” नीति अनुरुप नेपालसँग कनेक्टिभिटी, व्यापार तथा सीमा पूर्वाधार सुधार गर्ने भारतीय प्रतिबद्घता हो ।