पत्रकार महासंघको भवन निर्माणमा सहयोग गर्ने भक्तपुरका नगर प्रमुखहरुको प्रतिवद्धता


भक्तपुर ।

भक्तपुरका नवनिर्वाचित नगर प्रमुखहरुले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका छन् । स्थानीय सरकार पत्रकारमैत्री भएको जिकिर गर्दै उनीहरुले पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको जिल्ला शाखालाई आफ्नै भवन बनाउन सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका हुन् ।

शनिवार नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको आयोजनामा सम्पन्न नवनिर्वाचित नगर प्रमुख र उपप्रमुखमा बधाई, शुभकामना र साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मध्यपुर थिमिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ त्यसैगरी मध्यपुर थिमिका उपप्रमुख विजय कृष्ण श्रेष्ठ र सूर्यविनायककी उपप्रमुख सरिता तिम्सिना भट्टराइले भक्तपुरमा पत्रकारिताको विकासको लागि महासंघ सँग सहकार्य गर्ने बताउदै महासंघको आफ्नै भवन बनाउने अभियानमा आफूहरुले सक्दो सहयोग गर्ने बचन दिनुभएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले संविधान विपरित संघीय, प्रदेश र स्थानीय सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप गरे कदापी मान्य नहुने बताउनु भयो ।

संघीय, प्रदेश र स्थानीय सरकारले सञ्चार कानून ल्याउछौ र पत्रकारलाई ठेगान लगाउँछौ भनेर भनिरहेको छ, केही स्थानीय तहले त्यस्तो बिरोधाभाषपूर्ण कानून ल्याउने काम पनि गरेको पाईएको छ,महासचिव पुरीले भन्नुभयो, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानले दिएको अधिकार कुण्ठित पार्ने गरी सञ्चार कानून ल्याएमा महासंघ त्यसका विरुद्ध आनदोलनमा उत्रिन्छ ।
पत्रकारितामा केही बिकृतहरु भए त्यसलाई सच्याएर जाने पनि उहाँले बताउनु भयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख थापाले जुनसुकै पार्टीबाट निर्वाचन जिते पनि स्थानीय सरकार विभेदरहित रुपमा जनताप्रति उत्तरदायी हुनु पर्ने बताउनु भयो । पत्रकारले कसैलाई हतोत्साही पार्ने नभई खबरदारी गर्नु पर्ने र सत्य तथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गर्नु पर्नेमा जोड दिनु भयो । थापाले आफ्नै नगरपालिका क्षेत्रमा बन्ने महासंघको भवन निर्माणमा पैसाको कमि हुन नदिने बताउँदै भक्तपुर नगर बाहेकका तीनैवटै नगरपालिकाले महासंघको भवन बनाउन सक्दो सहयोग गर्ने उल्लेख गर्नुभयो ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमिलाई देशकै नमूना नगरपालिका बनाउने जिम्मेवारी आफूमा आएको बताउदै त्यसलाई सफल पार्न पत्रकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनु भयो ।

सम्पदाको संरक्षण, फोहोरमैलाको दीर्घकालिन व्यबस्थापन, युवा रोजगारी, शिक्षामा गुणस्तरीय परिवर्तन र युवा रोजगारीलाई मध्यपुरले मुख्य आधार बनाएर अगाडि बढेको भन्दै उहाँले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्तरोन्नतीमा विशेष कार्य गर्ने बताउनु भयो ।

त्यसअवसरमा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जनप्रतिनिधिलाई खबरदारी गर्ने, सत्य, तथ्यमा आधारि रहेर पत्रकारले भूमिका निर्वाह गर्नु पर्ने आवश्यकता रहेको औल्याउनु भयो । समाज रुपान्तरणसँगै समृद्ध नगर सुखी नगरवासी बनाउने आफ्नो अभियानमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहन्छ भन्दै नागरिकमुखी, लोकतन्त्रमुखी व्यबस्थाका लागि आफू लाग्ने उहाँले बताउनु भयो ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजय श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाले जिल्लाका सबै नगरपालिकालाई उत्कृष्ठ बनाउन सूचना र सञ्चारलाई सँगै लिएर जाने बताउनु भयो ।

महासंघका महासचिव पुरीले नवनिर्वाचित प्रमुख तथा उपप्रमुखहरुलाई माला, भादगाउँले टोपी लगाएर बधाई पत्र प्रदान गर्दै सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा महासंघका केन्द्रीय सचिव नारायण सुन्दर किलम्बुले भक्तपुरको पत्रकारिता र महासंघको अवस्थाबारे प्रकाश पार्नुभयो भने उपत्यका प्रदेश अध्यक्ष श्रीजन झाले पत्रकार महासंघ पत्रकारहरुको साझा छाता संगठन भएकोले यसलाई विभेदको आखाँले नहेर्न आग्रह गर्दै भक्तपुर नगरपालिकाले महासंघको अस्तित्व अस्वीकार गरेकोप्रति आलोचना गर्नुभयो ।

भक्तपुर शाखाका कार्यवाहक अध्यक्ष सुन्दर सिल्पकारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव संजीप घिमिरे शुभचिन्तक र उपाध्यक्ष लिला श्रेष्ठले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

उक्त अवसरमा शाखाका सस्थापक अध्यक्ष रमेश खड्का, उपत्यका प्रदेश सचिब अमर भुजु, शाखाका निबर्तमान अध्यक्ष पुष्करराज बुढाथोकी, सल्लाहकार रमेश गिरी ,प्रदेश सदस्य रत्न कृष्ण श्रेष्ठ, वरिष्ठ पत्रकार केदार कोइराला लगायतको आतिथ्यता रहेको थियो ।

भक्तपुर नगरपालिकाका नव निर्वाचत मेयर र उप मेयरले पत्रकार महासंघको सम्मान बहिस्कार गरेका छन् । पत्रकार महासंघ भक्तपुरले शनिवार आयोजना गरेको सम्मान कार्यक्रम भक्तपुर नगरपालिकाका मेयर शुनिल प्रजापति र उप मेयर रजनी जोसीले बहिस्कार गर्नुभएको हो ।

२०७४ सालमा पनि मेयर र उप मेयर निर्वाचित प्रजापति र जोशीले पाँच बर्ष अधि पनि पत्रकार महासंघले आयोजना गरेको सम्मान कार्यक्रम बहिष्कार गरेका थिए । त्यतिबेला सम्मान कार्यक्रममा नआएको, महासंघसंग सहकार्य गर्न नखोजेको र महासंघको अस्तित्व नै नस्विकारेको भन्दै महासंघको साधारणसभाले खेद व्यक्त गरेको थियो ।

पत्रकार महासंघ भक्तपुरका निवर्तमान अध्यक्ष पुष्कर राज बुढाथोकी जुनसुकै कार्यक्रम गर्दा पनि सहकार्य गर्न जांदा समेत सहकार्य हुन नसकेपछि त्यस्तो निर्णय गरिएको बताउनुहुन्छ । महासंघका एक पदाधिकारीका अनुसार यस पटक पनि महासंघको टोलिले मेयर प्रजापतिलाई भेटेर कार्यक्रम बारे जानकारी गराएको थियो । त्यसपछि पत्र र फोनमा समेत जानकारी दिइएको थियो । पटक पटक फोन गर्दा समेत फोन नउठेपछि कार्यक्रम शुरू गरिएको थियो ।