बालबालिकालाई कोभिडविरुद्धको खोप असारमा



काठमाडौं । 

सरकारले ५ देखि ११ वर्ष उमेर समूहका ३७ लाख बालबालिकाहरूलाई कोभिडविरुद्धको खोप दिने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असारको दोस्रो सातादेखि खोप लगाउने तयारी भइरहेको जानकारी दिँदै यसका लागि स्वास्थ्य संस्थाहरू जुटिसकेको बताएको छ ।

बालबालिकालाई दिने कोभिड–१९ विरुद्धको फाइजर खोप जेठ २५ गते नेपाल भित्रिने स्वास्थ्य सेवा विभागले जनाएको छ । अमेरिकी सरकारले कोभ्याक्स सुविधामार्फत् बालबालिकाका लागि आवश्यक ८४ लाख मात्रा फाइजरको खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएपछि स्वास्थ्य सेवा विभागले बालबालिकालाई खोप दिने व्यवस्था मिलाउने तयारी थालेको हो । उक्त खोप पहिलो चरणमा २७ जिल्लाका बालबालिकाहरूलाई र दोस्रो चरणमा ५० जिल्लाका बालबालिकाहरूलाई दिने तयारी भइरहेको छ ।

पहिलो चरणमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, पर्सा, सिन्धुली, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, चितवन, कास्की, बागलुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर, डडेल्धुरा लगायतका जिल्लामा र बाँकी जिल्लामा दोस्रो चरणमा खोप दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्