काठमाडौं ।
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारलाई थप व्यवस्थित बनाउन यसअघि निर्माण गरिएको गुरुयोजना परिमार्जनको काम अन्तिम चरणमा पुगेको छ ।
सबै मन्त्रालयलाई एउटै छातामुनि राख्ने योजना रहेको परिमार्जित गु्रुयोजनामा सिंहदरबारभित्र हेलिप्याड निर्माण गर्ने योजना पनि समावेश छ । हाल स्वास्थ्य तथा जनसंख्याबाहेक बाँकी सबै मन्त्रालय सिंहदरबार परिसरभित्रै रहेको छ ।संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख मच्चाकाजी महर्जनले गुरुयोजना परिमार्जनको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।
उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘सबै मन्त्रालयलाई एउटै छातामुनि राख्ने योजना गुरुयोजनामा समावेश गरिएको छ । गुरुयोजनामा सिंहदरबार परिसरभित्र हेलिप्याड निर्माणको विषय पनि समेटिएको छ ।’ बिजुली टेलिकमलगायतका तारलाई भूमिगत बनाइने बताउँदै मर्हजनले हरियाली क्षेत्र बढाउने विषय पनि गुरुयोजनामा समावेश गरिएको बताउनुभयो । परिमार्जित गुरु योजनालाई मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ ।
परिमार्जनको चरणमा रहेको गुरुयोजनामा स्वास्थ्यसँगै परराष्ट्र, गृह र शहरी विकास मन्त्रालयका नयाँ भवन निर्माण हुनेछ । मन्त्रिपरिषद्को कार्यालयसँगै सिहदरबार परिसरभित्र सर्वोच्च अदालत पनि रहेको छ । परिसरभित्रै संघीय संसद् भवन पनि निर्माणाधीन अवस्थामा रहेको छ । परिमार्जित गुरु योजनामा अब बन्ने नयाँ भवनको बाहिरी स्वरूप सिंहदरबारको मौलिकता र स्वरूपसँग मिलाइने उल्लेख छ । मन्त्रिपरिषद्को पश्चिम खण्डको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
गुरुयोजनामा सुरक्षा क्षेत्रलाई मध्यनजर गर्दैै सिंहदरबारका तीनवटै मूलढोकाको स्तरोन्नति गरेर सुरक्षा जाँच प्रविधिमैत्री बनाउने योजना छ । गुरुयोजनाअनुसार सबै ढोकामा मोटर गाडी एक्सरे (भेइकल स्क्यानर) राखिनेछ । सिंहदरवारको गुरु योजना सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट पनि समेटिएको छ ।
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सिंहदरबारलाई आधुनिक र व्यवस्थित बनाउनका लागि सरोकारवाला निकायसँग छलफलसमेत गरिसक्नुभएको छ । उहाँले देशको प्रमुख प्रशासकीय केन्द्रलाई वर्षांैसम्म अव्यवस्थित बनाएर राख्न नहुने बताउँदै सिंहदरबार गुरुयोजना स्वीकृत गरेर कार्यान्वयनमा ल्याइने बताउनुभयो । सिंहदरबारभित्र युटिलिटी कोरिडोर बनाएर एकीकृत विकास योजना अघि बढाउने जानकारी दिँदै उहाँले सिंहदरबारलाई आधुनिक र व्यवस्थित बनाउने काम अघि बढाइने बताउनुभयो ।
८ सय ८१ रोपनी क्षेत्रफलमा फैलिएको सिंहदरबार परिसरभित्र अधिकांश स्थानमा भवन निर्माण भइसकेको छ । तर, गुरुयोजनामा आधा दर्जन कार्यालय र अस्थायी प्रकृतिका टहरा हटाएर ७५ प्रतिशत खुला क्षेत्र कायम गरिने उल्लेख छ । खुला क्षेत्रमा पार्किङ, फुटपाथ, सडक, बगैंचा, वाटर फाउन्टेनलगायत रहनेछन् । सिंहदरबारभित्र बन्ने फुटपाथ अपांगमैत्री हुनेछ भने बिजुली, टेलिफोन, इन्टरनेटका तार भूमिगत हुनेछन् ।











प्रतिक्रिया