काठमाडौं ।
काठमाडौंं महानगरको एकीकृत एवं समन्वयात्मक विकास प्रणाली विकास गर्न निकायगत छलफल शुरू भएको छ । मेयर बालेन्द्र साहको अध्यक्षतामा शुक्रबार उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका साथै काठमाडौं उपत्यका खानेपानी लिमिटेड, दूर सञ्चार प्राधिकरण, सडक विभाग, मेलम्ची खानेपानी आयोजनालगायत विकास साझेदार कार्यालयका पदाधिकारीबीच भएको थियो ।
मेयरले कार्यभार सम्हालेपछि बसेको यो पहिलो बैठक हो । बैठकमा सबै निकाय प्रमुखले सहकार्य र साझेदारीको विषयमा छलफल गरेको थियो । सोही सल्लाहको आधारमा कामपाले विकास निर्माणको काम शुरू गर्नेछ ।बैठकले हरेक महिनाको पहिलो सोमबार दिउँसो समन्वय समितिको बैठक बस्ने निर्णय गरेको छ । बैठकमा विकास साझेदार कार्यालयका व्यवस्थापन र कार्यकारी भूमिकामा रहेका पदाधिकारीहरूको उपस्थिति रहनेछ । त्यस बैठकले चालु योजना कार्यान्वयनको समीक्षा गर्नेछ भने एकीकृत कार्यक्रमबाट सञ्चालन गर्न सकिने योजनाको निर्णय गर्नेछ ।
यसबाट सहरी पूर्वाधार तथा सेवा वितरणमा देखिएका समस्या समाधान हुनेछ अपेक्षा गरिएको छ । कानुनी तथा व्यवहारिक पक्ष, प्रबन्ध, संयोजन तथा समायोजन गर्नुपर्ने पक्षलाई व्यवस्थित गर्न यस प्रकारको बैठक बस्न लागिएको बताउँदै मेयर साहले विकास निर्माणका कामलाई व्यवस्थित गर्न र सेवा प्रवाहलाई पारदर्शी बनाउन समन्वय बैठक प्रभावकारी हुने विचार व्यक्त गर्नुभयो ।











प्रतिक्रिया