पाँच दलीय गठबन्धनको औचित्य बाँकी छ : कांग्रेस महामन्त्री शर्मा



भक्तपुर । 

नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले पाँच दलीय गठबन्धनको औचित्य बाँकी रहेको बताउनुभएको छ । कांग्रेस भक्तपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेशसभा २ (ख) मध्यपुर थिमिले शुक्रबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै महामन्त्री शर्माले आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि गठबन्धनका दलबीच स्थानीय तह निर्वाचनको समीक्षाको आधारमा सहकार्य हुने बिश्वास ब्यक्त गर्नुभयो ।

सरकार चलाउँदा गठबन्धनको निश्चित सिद्धान्त र कार्यक्रम बनेको भन्दै महामन्त्री शर्माले नेपाली कांग्रेस ठुलो दल भए पनि अहंकारको बाटोमा नरहेको बताउनुभयो ।

हरेक ठाउमा एकै खालको मनोविज्ञान हुँदैन भन्दै उहाँले तालमेल भएको स्थानमा पनि मिश्रित ढंगले निर्वाचन परिणाम आएकोमा त्यसको वस्तुनिष्ठ ढंगले समीक्षा गर्नुपर्ने बताउनुभयो ।

शर्माले स्थानीय तहको गठबन्धनबीचको चुनावी तालमेलमा आशङ्का नगर्न आग्रह गर्नुभयो । उहाँले कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेलकै कारण केही सिटमा जीत हासिल गरेको तर्क गर्दै सबै स्थानीय तहमध्ये केहीमा मात्र तालमेल भएको भन्दै तालमेलमा हल्ला धेरै भएको जिकिर गर्नुभयो ।

काठमाडौंमा बालेन साह र धरानका हर्क साम्पाङको जीतबाट जनताले दलहरुमा रुपान्तरणको सन्देश दिएको उहाँको भनाई थियो ।
मधेशीको छोरो काठमाडौंमा मेयर, नेवारको छोरो मधेशमा मेयर भएको भन्दै शर्माले यसले समाजको अन्तरघुलन, समाजभित्रको ग्राह्यता र स्वीकार्यता बढेको पुष्टी गरेको बताउनुभयो ।

महामन्त्री शर्माले निर्वाचित जनप्रतिनिधिले थोरै बोल्ने, धेरै सुन्ने, केही गर्ने धारणासहित अगि बढ्नुपर्ने बताउनुभयो ।

स्थानीय तहको निर्वाचनको सफलताले देश नयाँ अध्यायमा प्रवेश गरेको भन्दै उहाँले अब एमाले र अध्यक्ष केपी शर्मा ओलीलाई गाली र आलोचना गरेर कांग्रेसले समय बर्वाद नगर्ने बताउनु भयो ।

उहाँले अहंकार,धम्की र अर्कालाई ध्वास दिने अभिब्यक्तिका लागि कांग्रेसमा कसैलाई छुट नरहेको बताउँदै त्यसका लागि एमालेको मंचमा स्थान रहेको बिचार ब्यक्त गर्नुभयो ।

कार्यक्रममा कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले स्थानीय निर्वाचनमा अन्र्तघात गर्नेलाई कारवाही गर्ने बताउनु भयो ।
कार्यक्रममा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ,मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्