वीरगन्ज महानगरपालिकाको कार्यपालिका सदस्यमा गठबन्धनको बहुमत



वीरगन्ज ।

वीरगन्ज महानगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा पनि गठबन्धन विजयी भएको छ । महानगरपालिकाको कार्यापालिकाका ८ सदस्य चयनका लागि शुक्रबार भएको निर्वाचनमा ८ वटै सदस्य पदमा जसपा र नेपाली काँग्रेसको गठबन्धनका उम्मेदवारहरु विजयी भएका हुन् । जसपा र काँग्रेसका ४–४ जना सदस्यहरु निर्वाचित भएका हुन् ।

महानगरको कार्यपालिको दलित वा अल्पसंख्यक सदस्यमा गठबन्धनबाट काँग्रेसका कन्हैया प्रसाद , जसपाका खैरुद्धिन मिया धोबी र निरन्जन प्रसाद सोनार निर्वाचित भएका हुन् । कन्हैया १०७ , धोेबी १०८ र सोनार ११० मत प्राप्त गरि विजयी भएका हुन् । एमाले लोसपा गठबन्धनबाट एमालेका उम्मेदवार अजय कुमार गुप्ताले भने ४७ ,ओम प्रकाश साहले ४८ र राजकिशोर गुप्ताले पनि ४८ मत मात्र पाएका छन् ।

५ महिला सदस्यमा पनि गठबन्धनबाट काँग्रेसकी कनिका कौशीक ,नितु कुमारी राम र राधादेवी कार्की तथा जसपाबाट कलावती देवी राजपुतिन र रबुलसन खातुन विजयी भएका छन् । महिला सदस्यमा निर्वाचित कौशीकले १०९, रामले १११ , कार्कीले १०९ , राजपुतिनले ११३ र खातुनले ११४ मत पाएकी हुन् ।एमालेकी अमरी देवी चमारले ४५ ,कान्ति देवीले ४५ ,मन्जु देवीले ४६ र संगीता देवीले ४६ तथा लोसपाकी पतिया देवीले ४३ मत मात्रै पाएकी छन् ।

जिल्ला समन्वय समिति परिसरमा शुक्रबार बिहान १० बजे देखि दिउँसो २ बजे सम्म चलेको मतदानममा १६२ मतदाता मध्ये १५९ जनाले मात्रै मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

५ महिला र ३ दलित वा अल्पसंख्यक सदस्य गरी कुल ८ सदस्य पदका लागि भएको निर्वाचनमा महानगरमा निर्वाचित मेयर , उपमेयर , ३२ वटै वडाका वडा अध्यक्ष र वडा सदस्यले मतदान गरेका थिए । शुक्रबार भएको मतदानमा जसपाका ३ जना जनप्रतिनिधी भने सहभागी नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जसपाबाट निर्वाचित ३ जना जनप्रतिनिधी , मकवानपुरमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परि घाइते भइ अस्पतालमा उपचाररत रहेकाले उनीहरु मतदानमा सहभागी हुन नसकेका हुन् । महानगरमा निर्वाचित जसपाका जनप्रतिनिधीहरु घुम्न मकवानपुरको मकवानपुरगढी गएका बेला शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी दुइ जना वडा अध्यक्ष सहित ५ जना घाइते भएकोमा ३ जना अस्पतालमा उपचाररत छन् ।

महानगरमा शुक्रबार भएको कार्यपालिका सदस्य निर्वाचनमा जसपा र नेपाली काँग्रेसले गठबन्धन गरेका थिए भने नेकपा एमालेले र लोसपाले पनि छुटटै गठबन्धन गरेर उम्मेदवारी दिएका थिए । ८ सदस्य पदका लागि १६ जनाको उम्मेदवारी परेको थियो ।

वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरमा जसपा र काँग्रेसले मेयर र उपमेयरमा गठबन्धन गरेका थिए । मेयर जसपाले , उपमेयर काँग्रेसले , १३ वटा वडा वडा अध्यक्ष जसपाले , ९ वटा वडामा वडा अध्यक्ष काँग्रेसले , ८ वटा वडामा वडाअध्यक्ष एमालेले र २ वटा वडामा वडा अध्यक्ष लोसपाले जितेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्