मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएका समस्या समाधान

पूर्व श्रम स्वीकृतिका सवै प्रकृया पुरा गरेपछि मात्र स्वास्थ्य परीक्षण गरिने



काठमाडौं ।

वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न सरोकारवाला सहमत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री कृष्णकुमार श्रेष्ठ र सचिव एकनारायण अर्याल सहित स्वास्थ्य व्यवसायी तथा वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधिबीच भएको छलफलमा सरोकारवालाहरुले बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या तत्काल समाधान गर्ने प्रतिवद्धता जनाएका हुन् । त्यसका लागि अवदेखि पूर्व श्रम स्वीकृतिका सवै प्रकृया पुरा गरेपछि मात्रै श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षण गरिनेछ ।

अहिले श्रम स्वीकृतिको प्रकृया सुरु नहुँदै दैनिक हजारौं श्रमिकहरु बायोमेट्रिक स्वास्थ्य परीक्षणका लागि जाने गरेका छन् । पूर्व श्रम स्वीकृतिका सवै प्रकृया पुरा गरी एलटी नम्वर आएपछि मात्र स्वास्थ्य परीक्षणका लागि सुचिकृत स्वास्थ्य संस्थाहरुले बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्नेछन् । नेपाली कामदारहरुको प्रमुख गन्तव्य मुलुकका रुपमा रहँदै आएको मलेसिया रोजगारी लामो समयपछि खुलेकोले स्वास्थ्य परीक्षणको लागि चाप बढेको स्वास्थ्य व्यवसायीहरुको भनाइ थियो ।

छलफलमा स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधानका लागि स्वास्थ्य व्यवसायी तथा वैदेशिक रोजगार व्यवसायीले संयुक्त वक्तव्य जारी गर्ने, पूर्व श्रम स्वीकृतिका सवै प्रकृया पुरा नगरी स्वास्थ्य परीक्षण नगर्ने, नियमअनुसार नगर्ने संस्थाहरुलाई कारवाहीको दायरामा ल्याउने र स्वास्थ्य परीक्षणको विवरण साप्ताहिक रुपमा मन्त्रालयमा बुझाउने निर्णय भएको थियो । मन्त्री श्रेष्ठले मन्त्रालयबाट हुने सेवाहरुलाई अनलाइनबाट प्रवाह गरी छिटोछरितो गरिएको बताउनुहुँदै अन्य सम्वद्ध सरोकारवला संस्थाहरुले पनि श्रमिकलाई दु:ख दिन नहुने बताउनुभयो ।

वैदेशिक रोजगार सम्वन्धि सेवा दिने संस्थाहरुले समयमै प्रभावकारी सेवा नदिए मन्त्रालयको मिसन पुरा नहुने सचिव अर्यालले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्