भन्सार जाँचपास भएको ट्याक्टर ४० लाखको सामानसहित प्रहरी नियन्त्रणमा



 विराटनगर । 

४० लाख मूल्य बराबरको अवैध सामानसहित विराटनगर भन्सार कार्यालयबाट जाँचपास भएको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ विराटनगर महानगरपालिका–४ बाट बीआर ४४ जीबी २६२७ नम्बरको ट्याक्टर र सो ट्याक्टरमा रहेको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।

भन्सार छली गरेको आशंकामा ४० लाख मूल्य बराबरको सामान बोकेको ट्याक्टर मोरङ प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको ट्याक्टर प्रहरीले राजस्व कार्यालय इटहरी सुनसरीमा आवश्यक अनुसन्धानका लागि बुझाएको छ । विराटनगर महानगरपालिका–४ स्थित विराटनगर इटहरी सडक खण्डमा भारतीय नम्बर प्लेटको बीआर ३३ जीबी २६२७ नं. को ट्याक्टरमा मोटर पार्टस, छाला, नटबल्टु, मेसिन पार्टस र कपडालगायतको ४० लाख मूल्य बराबरको सामान राजस्व छली गरेको आंशकामा प्रहरीले ट्याक्टर बुधबार नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

‘भन्सारबाट जाँच पास भएर आएको सवारीले भन्सार छली गरेको आशंकामा नियन्त्रणमा लिएको हो,’ उहाँले भन्नुभयो– ‘थप अनुसन्धानका लागि राजस्व कार्यालय इटहरीमा बुझाएको छ ।’इटहरीस्थित राजस्व कार्यालयले अनुसन्धान गरेपछि भन्सार छली गरेको वा होइन खुल्ने उहाँले बताउनुभयो । प्रहरीले ट्याक्टर चालक भारतको अरेरिया जोगवनी वडा नं. १० टिकुलीयाका ३४ वर्षीय श्याम चौधरीलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले बरामद गरेको सामान भन्सार एजेन्ट चेतनाथ पौडेलका प्रतिनिधिले लालबचन यादवले भन्सार कर्मचारीसँग मिलेर भन्सार छली गरेको आरोप छ ।

विद्या केलिरिङ कन्सनका प्रतिनिधि रहेका यादव व्यापारीहरूको सामान भन्सारका कर्मचारीसँग मिलेमतो गरी कम मूल्यांकन गरी भन्सार छली गर्ने गरेको स्रोतको दाबी छ । उक्त ट्याक्टरमा मोटर पार्टस, छाला, नटबल्टु, मेसिन पार्टस र कपडालगायत छ । उक्त सामानको मूल्य ४० लाख बराबरको रहेको मोरङ प्रहरीले जनाएको छ । उक्त सामान अवैध तरिकाले राजस्व छली गरी विराटनगरबाट इटहरीतर्फ लाने तयारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्