स्वास्थ्य बिमा कार्यक्रम निजी बिमा कम्पनीलाई दिनुहुन्न


काठमाडौं । 

स्वास्थ्य बिमा कार्यक्रम निजी बिमा कम्पनीलाई दिने विषयमा पूर्व स्वास्थ्यमन्त्रीहरूले असहमति जनाएका छन् । स्वास्थ्य बिमाका विषयमा अर्थमन्त्री जनार्दन शर्माले अघि सार्नुभएको बजेट योजनामाथि प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको छलफलमा पूर्व स्वास्थ्यमन्त्रीहरूले यस्तो असहमति जनाएका हुन् । उनीहरूले स्वास्थ्य बिमा निजी बिमा कम्पनीलाई दिने विषयमा समर्थन गर्न नसकिने भन्दै निर्णयमा पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।

पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले बिमा ऐन वर्तमान प्रधानमन्त्रीकै नेतृत्वको अघिल्लो सरकारले पारित गरेको जिकिर गर्दै भन्नुभयो–‘अहिले आएर निजी कम्पनीलाई दिने भन्ने कुरा आएको छ, मैले कुनै पनि कोणबाट हेर्दा बुझ्न सकेको छैन । यो निर्णयलाई पुनरावलोकन गर्न आग्रह गर्दछु ।

उहाँले स्वास्थ्य बिमा कार्यक्रम नाफा नोक्सानको कोणबाट नभई ‘युनिभर्सल हेल्थ कभरेज’को अवधारणाबाट आएको भन्दै डब्लूएचओसँग गाँसिएर आएका कार्यक्रमसँगसमेत अहिलेको निर्णय मेल नखाने दाबी गर्नुभयो । उहाँले स्वास्थ्य बिमा सरकारले सामाजिक उत्तरदायित्वसँग गाँसेर ल्याएको र निजी क्षेत्रले ल्याएको बिमाजस्तो नभएकाले कम्पनीलाई दिनु नहुने स्पष्ट पार्नुभयो । पूर्व स्वास्थ्यमन्त्री पोखरेलले स्वास्थ्य बिमा कार्यक्रमको लाइन मिनिस्ट्री अर्थ मन्त्रालय नभई स्वास्थ्य मन्त्रालय नै रहनुपर्ने समेत जोड दिनुभयो ।

अर्का पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले निजी बिमा कम्पनीबाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न सम्भव नभएको बताउनुभयो । त्यसै गरी, पूर्व स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य बिमा कार्यक्रमको चर्काे आलोचना गर्दै सामाजिक सुरक्षाका विषयमा नेपालले लिएको दृष्टिकोण नै शर्माले नबुझेको बताउनुभयो । उहाँले हरेक मन्त्रालयका आफ्नै कार्यक्रम र योजना हुने जिकिर गर्दै बजेटका सिलिङका विषयमा अर्थ मन्त्रालयले छलफल गर्न सक्ने भए पनि आधारभूत कार्यक्रम नै चलाउन भने नसक्ने बताउनुभयो ।