काठमाडौं ।
निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति सरकारसमक्ष सिफारिस गर्न गृहकार्य अघि बढाएको छ ।
आयोगले स्थानीय तहको निर्वाचन सकिएलगत्तै प्रतिनिधिसभा र प्रदेशको सभाको निर्वाचनको मिति सिफारिस गर्न आन्तरिक तयारी शुरू गरेका छन् । यसका लागि आयुक्तहरू भित्री रूपमा छलफल थालेका छन् ।
निर्वाचनको मिति, निर्वाचन एकै चरणमा गर्ने कि दुई चरणमा गर्ने विषयमा छलफल भइरहेको आयुक्तहरू बताउँछन् । आयुक्तहरूले आन्तरिक छलफल सकिएपछि औपचारिक रूपमा निर्णय गर्ने, त्यस विषयमा राजनीतिक दलहरूको धारणा र सुझाव लिनेछ । आयुक्तहरू निर्वाचन मिति विषयमा छलफल गरी सरकारसमक्ष सिफारिस गर्नेछ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनसम्बन्धी कानुनमा आयोगसँग परामर्शमा सरकारले निर्वाचनको मिति तोक्ने प्रावधान रहेको छ ।
संविधानमा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल निर्वाचन भएको मितिदेखि पाँच वर्ष कार्यकाल भनेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा २०७४ साल मंसिर १० र २१ गते भएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐनको आधारमा निवार्चित भएको अवधिबाट कार्यकाल पाँच वर्ष भनिएकाले आयोगले मंसिर २२ लाई कार्यकाल सकिने दिन भनेको छ । यसले गर्दा मंसिर १५ गतेभित्र निर्वाचन गराउन सरकारसमक्ष सिफारिस गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो । ‘
मंसिर १५ गतेभित्रमा निर्वाचन गराएमा कार्यकाल सकिनु एक, दुई दिनसम्म मतगणना कार्य सम्पन्न भइसक्ने हाम्रो बुझाइ रहेको छ’ –प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो । यस विषयमा औपचारिक निर्णयसँगै सर्वदलीय बैठक राखेपछि सरकारसमक्ष निर्वाचनको मिति सिफारिस गर्ने आयोगको तयारी रहेको छ ।राजनीतिकस्तरमा कार्यावधिको विषयमा विवाद रहेको छ । २०७४ मंसिरमा निर्वाचन भए पनि समानुपातिक निर्वाचनको समेत मतगणना सकिएपछि संसद्को कार्यकाल फागुणमा शुरू भएको थियो ।
अर्कोतर्फ निर्वाचन एक चरणमा गर्ने वा दुई चरणमा गर्ने विषयमा सुरक्षा व्यवस्था, व्यवस्थापन, चाडपर्व, मौसम, भूगोललगायत सबै पक्षलाई हेरेर निर्णय गरिने पनि प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ रहेको छ ।आयोगले विगतमा मंसिर दोस्रो सातादेखि फागुणसम्म हिमाली क्षेत्रमा निर्वाचन गराउन नसकिने आधार मानेर दुई चरणमा निर्वाचन गराउन परेमा पहिलो चरणमा हिमाली जिल्लामा निर्वाचन गराउँदै आएको छ ।











प्रतिक्रिया