सप्तरी । सबै आमाबुवा आफ्ना सन्तानका लागि जीवन अर्पेका हुन्छन् । आफू भोकभोकै रहेर पनि आफ्ना सन्तानलाई भोको हुन दिँदैनन् ।
सन्तानको सुखमा आफ्नो सबै दुःख बिर्सिन्छन् । त्यसरी जीवन समर्पित गर्नुको एउटै उद्देश्य हो सन्तान बुढेसकालको सहारा बनुन् । तर, सप्तरीका एक ७५ वर्षीय वृद्ध आफ्नै श्रीमती र छोराबाट पटक-पटक हिंसामा परेको भन्दै देश छोड्ने निर्णयमा पुगेका छन् ।
रुपनी गाउँपालिका-१ का रामप्रसाद साहले आफ्नै परिवारबाट असुरक्षित रहेको भन्दै न्याय खोजिदिन प्रशासन र पत्रकारसँग आग्रह गरेका छन् ।
छोराहरूले हेला गर्न थालेपछि विगत ९ वर्षदेखि घरपरिवार त्यागेर छिमेकीको घरमा भाडा लिएर बस्दै आएका साह रुपनी बजारमै सानो किराना पसल सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका छन् ।
छोरा आनन्दप्रसाद साह, जितेन्द्रप्रसाद साह र गणेशप्रसाद साहले अनावश्यक कुटपिट गर्ने गरेपछि शान्तिपूर्ण बाँच्नेस्थिति नरहेकोले देश छाड्ने मनसाय बनाएको उनले बताए ।
जेठ १० गते जेठो छोरा आनन्दले विना कारण निहुँ खोजेर कुटपिट गरेको घटनाको विषयमा इलाका प्रहरी कार्यालय रुपनीमा निवेदन दिँदासमेत प्रहरीले चासो नदेखाएको साहको आरोप छ ।
सम्पत्तिको नाममा किराना पसल र सरकारले दिने सामाजिक सुरक्षा भत्ता बाहेक आफूसँग अरू केही नभएको साहले बताए ।
२०७० सालदेखि श्रीमती र छोराछोरीबाट अलग्गै बस्दै आएको जानकारी दिँदै साहले आफू एक्लै बस्दासमेत बेलाबखत छोराहरूले कुटपिट गर्ने गरेको दुखेसो पोखे ।
प्रतिक्रिया