काभ्रे ।
किसानहरुले बाली लगाउने समयमा रसायनिक मल उपलब्ध नभए पछि आन्दोलित भएका छन् । कृषि सामाग्री संस्थान धुलिखेलले हरेक वर्ष २५ हजार मेट्रिक टन एक वर्षको अवधीमा विक्री वितरण गर्नु पर्ने माग भए पनि ४ हजार मेट्रिक टन मात्रै विक्री गर्न सकेको छ ।
‘माग अनुसार एक भाग पनि रसायनिक मल उपलब्ध हुन सकेको छैन’–कृषि सामाग्री संस्थानका प्रमुख बासुदेव शर्माले भन्नुभयो–‘धुलिखेल कार्यालयबाट बार्षिक २५ हजार मेट्रिक टन मल विक्री गर्नु पर्ने माग छ ।
मलको उपलब्धता ४ हजार मेट्रिक टन भयो ।’ मुल्य बृद्धी तथा बोलपत्र आब्हान गरे अनुरुप मल आपुर्ति हुन नसक्दा हरेक वर्ष रसायनिक मलको समस्या भोग्नु परेको उहाँले बताउनु भयो ।
काभ्रेपलाञ्चोक जिल्लामा ४ सय सहकारीले मल विक्री गर्दै आएका छन् । कृषकहरुले मल नपाउँदा खेति गर्न सकेका छैनन । मल विना गरिएको खेतिले उब्जनी दिएको छैन । विशेषगरी मकै, धान र अन्य बालीहरुमा रसायनिक मलको आवश्यकता भए पनि कृषकहरु दैनिक संस्थान आएर फर्कने गरेका छन् ।
माओवादी निकट अखिल नेपाल किसान महासंघले मंगलबार बागमती प्रदेशको कृषि तथा पशुपक्षी शाखालाई कृषि सामाग्री संस्थान धुलिखेल मार्फत ज्ञापन पत्र बुझाएको छ ।किसान नेताहरु हरि तिमल्सिना, बासुदेव धिताल, शिवप्रसाद लगायतले किसानहरुलाई तत्काल मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षष गराएका थिए ।
मलको हाहाकार हुँदा सरकारले ल्याउने भनेको जिटुजी मार्फतको मल आउन सकेको छैन भने बोलपत्र गरिएको मल पनि आउन सकेको छैन । कृषि प्रधान देशमा कृषकहरुले हरेक वर्ष भोग्नु पर्ने यस्ता समस्यामा सरकार उदासिन हुँदै आएको छ ।











प्रतिक्रिया