काभ्रे ।
कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकले काभ्रे र सिन्धुपाल्चोक जिल्लाका ७ उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । नगद १५ हजार, दोसल्ला र प्रमाणपत्र सहित मंगलबार कृषि विकास निर्देशनालयका प्रमुख रविन्द्र प्रधान, कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख तेजप्रसाद दवाडी लगायतले सम्मान गर्नु भएको थियो ।
सात वटा प्रदेश मध्ये बागमगती प्रदेश अन्र्तगतका जिल्लामा मात्रै यो कार्यक्रम लागु भएको छ । उत्कृष्ट राष्ट्रपति कृषक सम्मानका लागि आवेदन माग गरिएका ३८ वटा आवेदन मध्ये ७ वटा आवेदन छनौट गरी स्थलगत अध्ययन पश्चात सम्मान गरिएको कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख तेजप्रसाद दवाडीले बताउनु भयो । काभ्रेपलाञ्चोकबाट २८ कृषकको आवेदन परेको थियो भने सिन्धुपाल्चोक जिल्लाबाट १० वटा आवेदन दर्ता भएका थिए ।
काभ्रेपलाञ्चोक जिल्लाका ४ र सिन्धुपाल्चोक जिल्लाका ३ जना उत्कृष्ट कृषक सम्मानित भएका छन् ।कृषकहरुलाई उत्साहित गर्न सम्मान कार्यक्रम राखिएको निर्देशनालयका प्रमुख रविन्द्र प्रधानले बताउनु भयो । ‘कृषकलाई उत्साहित बनाउँदै आधुनिकिकरण, ब्यवसायीकरण र ब्यवसायीक बनाउँदै उत्पादन बृद्धी गर्न सरकारले विभिन्न कार्यक्रम संचालन गरेको छ’–निर्देशनालय प्रमुख प्रधानले भन्नुभयो–‘सरकारले आगामी आर्थिक वर्ष देखि कृषिमा उपलब्ध गराउँदै आएको अनुदान बन्द गरेको छ । अब अनुदानको सट्टा विउ पुँजी उपलब्ध गराउने छ ।’ अनुदान खारेज गरी विउँ पुँजी मार्फत कृषकहरुलाई थप राहत उपलब्ध गराउने कार्यक्रम शुरु भएको बताउँदै निर्देशक प्रधानले ठुला ठुला फार्म संचालन गरी लागत कम उत्पादन धेरै गर्न कृषकहरुलाई हौसला प्रदान गर्नु पर्ने बताउनु भयो ।
सम्मानित कृषकहरु कमला लामा, अप्सरा तिमल्सिना घिमिरे, दिपेशचन्द्र लामा, राजेन्द्र ढकाल, विन्दु तामाङ, भिमप्रसाद ढकाल लगायतले उत्पादनमा ब्यसायीकरणले सहज भएको बताउनु भयो । बैदेशिक रोजगारमा जानुको सट्टा नेपालमै केहि गर्न सकिने अनुभव सम्मानित उत्कृष्ट कृषकहरुले सुनाएका थिए । कृषकहरुलाई उत्कृष्ट बनाउन कृषि ज्ञान केन्द्रले निरन्तर कार्यक्रमको प्रभावकारीता बढाउँदै लगेको ज्ञान केन्द्रका प्रमुख तेजप्रसाद दवाडीले बताउनु भयो । कार्यक्रममा भेटेरिनरी अस्पतालका प्रमुख राजकुमार हुमागाई, कृषि ज्ञान केन्द्रका विभिन्न तहका कर्मचारीहरु, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।











प्रतिक्रिया