सुशासन र फुटबल विकासको लागि पौडेलको उम्मेदवारी



काठमाडौं । 

अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवार रहेका छन् । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले उम्मेदवारीसँगै फ्रेन्डस् क्लबका पूर्व अध्यक्ष राजीव पौडेलले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभयो । पौडेलले हाल एन्फामा सोचेजस्तो कार्य नीति केही पनि प्रणालीअनुसार नचलेकोले आफुले उम्मेदवारी दिनुपरेको पौडेलले बताउनुभयो ।

पौडेलले सुशासन, पूर्वाधार, ग्रासरुट तथा युवा र महिला फुटबल, प्रतियोगिता तथा राष्ट्रिय टिम र सम्बन्धित पक्ष (दाँवधारी) जस्ता ५ एजेन्डा राख्नुभएको छ । एन्फामा गणेश थापाको नेतृत्व समाप्त भएपछि अध्यक्ष पदमा शेर्पा आउनुभएको हो । यसको बावजुद नेपाली फुटबलमा सोचेजस्तो काम नभएको पौडेलले बताउनुभयो । उहाँले नेपाल समाचारपत्रलाई बताउनुभयो-एन्फामा सुशासन तरिकाले चलेन । परिवर्तनको नारा लिएर नेतृत्व सम्हालेको टोलीले सोचेजस्तो परिवर्तन गर्न सकेनन् । नेतृत्व लिएको पहिलो वर्षमा ठिकै चल्यो तर पछि त्यस्तो भएन । पुरानो प्रवृत्ति पटक्कै बदलिएन ।

मार्केटिङ समितिको संयोजक तथा एएफसीको मार्केटिङ समितिको सदस्य समेत रहेका पौडेलले पदमा बसेकाहरुले प्रणालीमा चलाउन नसकेको हुँदा यसको लागि आफुले परिवर्तन गर्न उम्मेदवारी दिनुपरेको पनि बताउनुभयो । उहाँले भन्नुभयो-कतिपय विषयमा मलाई बैठकमा बोलाइएन । एन्फाका विषयमा बैठकमा नबोलाउनु भनेको विधानविपरित भएको छ । तर कहिलेकाही आवश्यक परेमा बोलाउने गर्छ ।

शुरुवातदेखि नै विधान मिच्ने काम भयो । आफ्नो मान्छेलाई अर्को पनि काम दिएको छ, यो पटक्कै सुहाएन । उहाँले एन्फामा व्यवसायिकता दखल भएका व्यक्तिको आवश्यक भएको भन्दै बताउनुभयो-एन्फाको पदमा १५ वर्ष निजी कर्पोरेटमा अनुभवी भएका व्यवसायिक जस्ता परिपक्व व्यक्तिको आवश्यक छ । तर, आफ्नो मान्छे भर्ती गर्ने र यसलाई जागिर खाने भाँडो मात्रै बनायो । दोहोरो, तेहेरो तलब खाने समेत भइरहेको छ । यसलाई अन्त्य गर्नु पर्छ, अनि मात्रै एन्फा भ्रष्टाचारीमुक्त र पारदर्शी हुनेछ, नत्र भने केही हुने छैन । यस्तो प्रवृति समाप्त गर्न नै मेरो उम्मेदवारी भएको हो ।

पौडेलले ग्रासरुट फुटबललाई निरन्तरता दिनुपर्ने बताउनुभयो । हाल ग्रासरुट त शुरु भयो, तर यसले निरन्तरता नपाएको उहाँको भनाइरहेको छ । उहाँले भन्नुभयो-ग्रासरुट फुटबलमा निरन्तरता भएन, यो खालि महोत्सवको रुपमा मनाइरहेको छ । ग्रासरुट फुटबलले राम्रा खेलाडी उत्पादन गर्ने एउटा राम्रो माध्यम हो । तर, यहाँ के गरियो भने बच्चाहरुलाई ल्यायो खेलायो सकियो । यो खालि महोत्सवको रुपमा ग्रासरुट फुटबल संचालन भइरहेको छ । यदि यसलाई प्रतियोगिताको रुपमा लाने हो भने राम्रा प्रतिभावान बच्चाहरु छान्न सकिन्छ र त्यस्ता बच्चाहरुलाई छात्रवृत्ति दिएर विदेशमा फुटबल विकासका लागि पठाउनुपर्ने हो । तर, यो भएको छैन । यदि यस्तो गर्न सकेमा हाम्रो खेलाडीले अन्तर्राष्ट्रियस्तरमा अवसर पाउन सक्नेछन् । यतातिर पटक्कै ध्यान गएको छैन । ग्रासरुटलाई बलियो बनाउँदै लाने हो भने नेपालमा फुटबलरको कमी हुने छैन ।

पौडेलले पूर्वाधारका लागि पनि हेर्ने बताउनुभयो । क्लबलाई व्यवसायिक बनाउँदै लैजाने उहाँको दृढता रहेको छ । उहाँले हाल क्लबको समस्या रहेको भन्दै बताउनुभयो—व्यवसायिक नभएसम्म क्लब बलियो हुदैन । लाइसेन्स होल्डरमा लाने हो भने क्लबको बजेट १ करोड पर्न सक्छ । अहिले कुनै कुनै क्लबले ३ करोडसम्म खर्च गरेको पनि छ । क्लब को दयनीय अवस्था लिग सकिएपछि नै देखिन्छ । ऋणमा पर्छ, यस सिजनमा १ करोड खर्च भएमा अर्को सिजनमा स्वतः बढेर डेढ करोड लाग्छ, क्लबलाई व्यवसायिक गर्न फिफाबाट आर्थिक सहयोग गराउन पनि सोच्नु पर्ने, तर यो गर्न सकिरहेको छैन । यदि क्लबलाई पब्लिक शेयरमा लाने व्यवस्था गर्ने हो भने यसले ए डिभिजन क्लबलाई अब के गर्ने भन्ने समस्याले सताउँदैन । खेलाडीलाई त्यही क्लबलाई राख्ने व्यवस्था गर्नुपर्छ ।

पौडेलले ग्रासरुटदेखि नै राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै लानुपर्ने बताउनुभयो । वडादेखि प्रदेश र केन्द्रसम्म जानुपर्ने यसले उत्कष्ट टिम बनाउन सकिने उहाँले भन्नुभयो । उहाँले बताउनुभयो -अहिले प्रतियोगिता पनि राम्ररी आयोजना भइरहेको छैन । हामीसँग शायद ४०÷ ५० जना खेलाडी छन् । यदि अन्तर्राष्ट्रिय सफलता पाउने हो भने ग्रासरुटदेखि नै प्रतियोगिता आयोजना गर्दै जानुपर्छ । यसले भविष्यमा हामीसँग कसमेकम दुई वटा उत्कृष्ट टिम हुन्छ । साथै खेलेर बाँच्न सक्ने अवस्था ल्याउनुपर्ने पनि आजको आवश्यकता हो । फ्रेन्चाइजी, स्टेकहोल्डर, प्रायोजक ल्याउनु पर्छ । अन्तर्राष्ट्रिय प्रायोजक पनि ल्याउन सकिने वातावरण सिर्जना गर्नुपर्छ ।

नेपाली फुटबलको विकासको लागि परिस्थितिगत विश्लेषण हुनुपर्ने, आवश्यक योजना निर्माण गर्ने, योजनालाई कार्यन्वयन गर्ने, कार्यान्वयन भए नभएको निरीक्षण गर्ने त्यसपछि मूल्यांकन गर्ने पर्ने पौडेलले बताउनुभयो । सबै मिलेर फुटबल खेलमा आ–आफनो ठाउँबाट विकास गर्ने हो भने नेपाललाई सन् २०२४ सम्ममा दक्षिण एसियामा उत्कृष्ट तथा २०२६ सम्म एसियाकै शीर्ष १० मा पुर्याउन सक्ने दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्