बेपत्ता विमान चालकको फोन लोकेसन ट्रयाक : प्रतिकूल मौसम, खोजी कार्य जारी

0
Shares

काठमाडौं । बिहान १० बजेपछि बेपत्ता भएको तारा एयरको विमान चालकको फोन लोकेसन ट्रयाक भएको छ । बेपत्ता विमान खोजीका क्रममा चालकको मोबाइल फोनको लोकेसन ट्रयाक भएको हो ।

नेपाल टेलिकमले पाइलट प्रभाकर घिमिरेको फोनको लोकेसन ट्रयाक गरेको तारा एयरका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तोलाले बताए । उनले भने, लोकेसन ट्रयाक भएको छ, त्यतातिर सेना, प्रहरी र तारा एयरको उद्धार टोली परिचालन भइसकेको छ ।’

उद्धार तथा खोजी कार्यका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा सेना र प्रहरीको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । विमान बेपत्ता भएपछि खोज्नका लागि जोमसोबाट हेलिकप्टर पठाइएकोमा मौसम खराबीका कारण जोमसोममै फर्किएको छ । तारा एयर कम्पनीले विमानको खोजी भइरहेको जनाएको छ ।

प्रहरीको टोली खोजीका लागि सम्भावित घटनास्थलतर्फ लागिसकेको छ । त्यहाँ पुग्न प्रहरीलाई करिब चार घण्टा लाग्छ । पोखरा विमानस्थलबाट आइतवार बिहान ९ बजेर ५५ मिनेटमा १९ जना यात्रु लिएर जोमसोमका लागि उडेको ट्वीनअटर विमान बेपत्ता भएको हो । विमानमा तीन जना चालक दलका सदस्य रहेका छन् भने २२ जनामध्ये ४ जना महिला रहेका छन् ।