नेपाली सेनाको हेलिकप्टरको सहायतामा सम्पर्कविहीन जहाजको खोजी सुरु

0
Shares

म्याग्दी ।

नेपाली सेनाको हेलिकप्टरको सहायतामा सम्पर्कविहीन जहाजको खोजीकार्य सुरु भएको छ । आज बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहिन भएपछि खोज्नका लागि सेनाको हेलिकप्टर परिचालन गरिएको हो ।

अहिले मुस्ताङको थासाङ गाउँपालिकाको लेते र नाउरीकोट क्षेत्रलाई केन्द्रीत गरेर सम्पर्कविहिन जहाजको खोजीकार्य सुरु गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार थासाङ गाउँपालिकामा पर्ने टुकुचे पिक क्षेत्र आसपासलाई आधार मानेर हेलिकप्टरमार्फत खोजीकार्य भैरहेको छ ।

सम्पर्कविहिन बनेको जहाजको खोजीका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक राजकुमार तामाङको नेतृत्वमा नेपाल प्रहरीको टोली ४० जना तथा नेपाली सेना ६० र सशस्त्र प्रहरी बलबाट २५ जनासहित स्थानीयवासी समेत परिचालन भएको मुस्ताङ प्रहरीले जनाएको छ । पोखराबाट गएको सेनाको हेलिकप्टरले यसअघि हिमपहिरो गएको क्षेत्रलाई आधार मानेर सम्पर्कविहिन जहाजको खोजीकार्य गरेको जनाइएको छ ।

अहिले पनि लेते र नाउरीकोटमा मौसम बिग्रिएका कारण खोजीकार्यमा समस्या भएको छ । बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको नाइन एनएईटी ट्वीनअटेर जहाज सम्पर्कविहिन भएको थियो । उक्त जहाजमा चालक दलका तीन जना सदस्य थिए भने १९ जना यात्रु सवार रहेको जनाइएको छ ।