तारा एअरको जहान सम्पर्कविहीन : प्रतिकूल मौसम, खोजी कार्यमा कठिनाइ, हवाइ र स्थलमार्गबाट पनि असम्भव

0
Shares

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एअरको जहाज चार घण्टादेखि सम्पर्कविहीन छ । प्रतिकूल मौसमका कारण उक्त एअरको जहाज सम्पर्कविहीन भएको हो ।

जहाज सम्पर्कविहीन भएको केही घण्टा लगत्तै खोजी कार्य सुरु गरिएको थियो । यद्यपि नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्पर्कविहीन रहेको तार एयरको जहाजको खोजी कार्यमा मौसम बाधक बनेको जनाइएको छ ।

प्रतिकुल मौसमका कारण खोजी कार्यमा कठिनाइ भएकोले फिस्टेल एयरको हेलिकोप्टर पुनः जोमसोममै फर्किएको प्राधिकरणद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

तारा एयरको जहाज आज (आइतबार) बिहान पोखराबाट जोमसोमका लागि उडान भरेको थियो । जहाजमा चालक दलका तीन सदस्य सहित २२ जना यात्रु रहेका छन् ।

प्राधिकरणका अनुसार जहाज विहान पोखराबाट ९ः५५ बजे जोमसोमका लागि उडेको थियो । जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः०५ बजे घोडेपानी भन्ने स्थानबाट सम्पर्कमा आएको थियो ।

त्यसपछि जहाज सम्पर्कविहिन भएको प्राधिकरणले जनाएको छ । जहाज सम्पर्कविहीन भएको केही घण्टामै नेपाली सेना र नेपाल प्रहरी हवाइ र स्थलमार्गबाट खोजी कार्यका लागि प्रस्तान गरेका थिए । तर, मौसम प्रतिकूलताका कारण उनीहरू फर्किएको विज्ञप्तिमा भनिएको छ ।