म्याग्दी ।
आज बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज अहिलेसम्म भेटिएको छैन । बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एअरको नाइन एनएईटी ट्वीनअटेर जहाज सम्पर्कविहिन भएको हो ।
अहिले जहाजको खोजीकार्यका लागि हेलिकप्टर उडिरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले टेलिफोनमा जानकारी दिनुभयो । उहाँले अहिलेसम्म जहाज कुन अवस्थामा छ भनेर सम्पर्क हुन नसकेको बताउँदै दुर्घटनाको बारेमा आधिकारिक जानकारी प्राप्त नभएको बताउनुभयो ।
प्रजिअ शर्माले भन्नुभयो– ‘पोखराबाट जोमसोमका लागि भनेर उडान भरेको सम्पर्कविहिन जहाजको खोजीका लागि हेलिकप्टर उडिरहेको छ । जहाज दुर्घटनाबारे आधिकारिक जानकारी छैन ।’ सम्पर्कविहिन जहाजको खोजी गर्नका लागि मुस्ताङको आकाशमा हेलिकप्टर उडाइएको हो । पोखराबाट आधा घण्टाको दुरीमा पुग्न सकिने जोमसोम विमानस्थलमा अहिलेसम्म पनि जहाज नपुगेको र सम्पर्कविहिन हुँदा दुर्घटनाको आशङ्का गरिएको छ ।
उक्त जहाजमा चालक दलका तीन जनासहित १९ जना यात्रु सवार रहेको जनाइएको छ । अहिले पनि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका क्षेत्र, मुस्ताङको घाँसा र लेते क्षेत्रमा बाक्लो कुहिरो लाग्नुका साथै सिमसिम पानी परिरहेको हुँदा खोजीकार्यमा समस्या भैरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया