काठमाडौं ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई यथाशीघ्र नागरिकता ऐन ल्याउन माग गर्नुभएको छ । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा आफ्नो धारणा राख्दै अझै पनि लाखौं नेपाली नागरिक नागरिकताविहीन भएको भन्दै तत्काल नागरिकता ऐन ल्याएर समस्याको हल गर्न माग गर्नुभएको हो ।
‘आमाबुबाले जन्मसिद्ध नागरिकता प्राप्त गरेका छन्, तीनका सन्तान गैरनागरिक भएर बस्नुपरेको छ, तिनीहरूलाई नागरिकता दिने दायित्व राज्यको हो’ –यादवले भन्नुभयो । राज्यले आफ्नो दायित्व पूरा नगर्दा ती नेपाली नागरिकका सन्तान राष्ट्रियताविहीन अवस्थामा अधिकारबाट वञ्चित भएको अवस्थामा बाँच्न विवश भएकोप्रति असन्तुष्टि जनाउँदै उहाँले भन्नुभयो– ‘गल्ती राज्यले गर्ने सजाय नागरिकले भोग्नुपर्ने ?’यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको बजेटका सम्बन्धमा जानकारी लिनुभएको छ ।
सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्माले सभामुख सापकोटा समक्ष आगामी वर्षको बजेट एवं प्राथमिकताका सम्बन्धमा जानकारी गराउनुभएको हो । सभामुख सापकोटाले संघीय संसद्को बजेटसँग जोडिएका अन्य विषयमा अर्थमन्त्री शर्मालाई स्मरण गराउनुभएको थियो । भेटको अवसरमा संघीय संसद्का महासचिव डा. भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, अर्थ सचिव मधुकुमार मरासिनीलगायतको सहभागिता रहेको थियो ।











प्रतिक्रिया