पपुलिस्ट कार्यक्रम ल्याउने अनुमति सरकारलाई छैन : पौडेल


काठमाडौं । 

नेकपा एमालेका नेता विष्णु पौडेलले वर्तमान सरकार चुनावी सरकार भएकाले दीर्घकालीन महत्वका आयोजना अघि बढाउन नपाउने बताउनुभएको छ । उहाँले यो सरकार चुनावी सरकारले भएकाले सरकारले दीर्घकालीन महत्वका आयोजनालाई निर्धक्क अघि बढाउन नपाउने बताउनुभएको हो ।

शनिबार नीति तथा कार्यक्रमाथि आफ्नो धारणा राख्दै पौडेलले बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीबाट बनाउने निर्णय हावादारी भएको टिप्पणी गर्नुभयो । बजेट स्रोतको सीमामा नरहने र स्रोतभन्दा बाहिर जाने जोखिमको निम्त्याएको बताउँदै उहाँले भनुभयो– ‘यो सरकार चुनावी सरकार हो । हामीले मंसिरभित्र चुनाव सम्पन्न गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।’

सरकारले आर्थिक दायित्व थपिने प्रकृतिका र आगामी चुनावपछि आउने सरकारलाई बोझ थप्ने खालका योजना ल्याउन नपाउने बताउँदै यो सरकारलाई पपुलिस्ट कार्यक्रम ल्याउने अनुमति नभएको बताउनुभयो । बजेटका सूचना चुहिएको देखिएको बताउँदै उहाँले बजेटको गोपनीयता राख्न सरकारले नसकेको आरोप लगाउनुभयो ।

बैठकमा एमालेका नेता गोकर्ण विष्टले वर्तमान सरकार दीर्घकालीन नीति तथा योजना ल्याउन जाँगर नदेखाएको आरोप लगाउनुभयो । वर्तमान गठबन्धन सरकारले नीति तथा कार्यक्रममा दीर्घकालीन महत्वको आयोजना समेट्न जाँगर नदेखाएको बताउनुभयो ।‘यो चुनावी सरकार हो । अबको ५-६ महिनामा अर्को सरकार आइहाल्छ कि भनेर हुन सक्छ, त्यहीकारण, सरकारले नीति तथा कार्यक्रममा नयाँ योजना समेट्न सकेको छैन’ –उहाँले भन्नुभयो ।

देशका प्रतिभाशाली युवाहरू विकसित देशतर्फ र मध्यमस्तरका युवाहरू अरबी देशहरूमा गइरहेको बताउँदै नेपाली श्रम प्रयोग गरेर अरबका मुरुभूमिहरू विकसित भूमिमा परिवर्तन भइरहेको बताउनुभयो ।