काठमाडौं ।
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रतिपक्षी दलका नेताको तीन घण्टा लामो सम्बोधनमाथि व्यंग्य गर्नुभएको छ । उहाँले संसद्को रोस्ट्रममा तीन घण्टा कुर्सीमा बसेर सम्बोधन गर्नु कुण्ठा मात्रै भएको बताउनुभएको हो ।
सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा शनिबार आफ्नो धारणा राख्दै बिरामी भएको बेलामा घण्टौं बसेर बोल्ने भनेर प्रतिप्रश्न गर्दा आफूले यतिखेर निर्वाचनमा पराजय भोगेर रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोल्न दिए पनि हुने जवाफ दिएको बताउनुभयो । थापाले निर्वाचन हुँदैन हुँदैन भनिँदा सानदार ढंगले एकैपटक सम्पन्न गरेकोमा निर्वाचन आयोग र सरकारलाई धन्यवाद दिँदै नीति कार्यक्रममा सरकारले स्थानीय सरकारलाई सहयोग गर्छौं भनेको उल्लेख गरेको बताउनुभयो ।
स्थानीय सरकार एक्लैले काम गर्न नसक्ने भन्दै सहजीकरण गर्न पनि संघ सरकारलाई सुझाव दिँदै काठमाडौंको फोहोर हटाउन संघ सरकारको सहयोग चाहिएकाले सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । ‘हाम्रो अर्थतन्त्र समस्याग्रस्त मात्रै छैन संकटतर्फ छ, जोखिम आइसक्यो । सरकारको ध्यान जानुपर्छ । पेट्रोलियम पदार्थमा निर्भरता हटाउनेतिर लाग्नुपर्छ । यसमा सरकारको विशेष प्राथमिकता हुनुपर्छ’ – थापाले भन्नुभयो । किसानले मल पाउने कि नपाउने, बिरामी हुँदा सहजरूपमा उपचार सेवा पाउने वा नपाउने भन्नेतर्फ सरकारलाई ध्यान दिन आग्रह गर्दै उहाँले अर्थतन्त्र समस्यामा पर्न थालेकाले व्यापार घाटा बढेकाले समस्या समाधानका लागि अग्रसर हुनुपर्ने बताउनुभयो ।
अमेरिकी डलरको सञ्चितिमा व्यवधान आउने खालका कुनै पनि आयात नगर्नेबारे सरकारले घोषणा गरेको खण्डमा नागरिकमा समेत विश्वास पैदा हुने बताउँदै थापाले हेलिकोप्टर, मरिच, केराउ, कुनै पनि सामान आयात नगर्नेतर्फ सरकार लाग्नुपर्ने मााग गर्नुभयो । पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा परेको चापलाई सम्बोधन गर्न सरकारले उपभोक्तालाई पनि राहत दिनेतर्फ लाग्नुपर्ने सरकारको ध्यानाकर्षण गराउनुभयो ।
थापालाई चौधरीको जवाफ
थापाले ओलीमाथि व्यंग्य गरेपछि नेकपा एमालेकी सांसद शान्ता चौधरीले अध्यक्ष केपी शर्मा ओलीबारे कांग्रेसका महामन्त्री गगन थापाले गरेको टिप्पणीको खण्डन गर्नुभयो । शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै महामन्त्री थापाले रन्थनिएका बेला जसरी पनि बोल्दा हुने बताउनुभएको थियो । बिहीबार नीति तथा कार्यक्रममाथि धारणा राख्दा एमाले अध्यक्ष ओली रोस्ट्रममै कुर्सी मगाएर बसेर धारणा राखेकोप्रति कांग्रेस महामन्त्री थापाले टिप्पणी गरेको भन्दै एमाले सचेतक चौधरीले मानवताको विषय उठाउनुभएको छ । चौधरीले थापालाई भन्नुभयो– ‘तपाईंले आज प्रतिपक्षी नेताको स्वास्थ्यमा समस्या आएपछि बसेर बोलेको कुरालाई नकारात्मक ढंगले संसद्मा विरोधाभास ढंगले बोल्दा तपाईंमा पनि गठबन्धनको मोहले मानवता हराउन लागेको हो कि भन्ने भान भयो ।’











प्रतिक्रिया