कार्यपालिका निर्वाचन शुरू

0
Shares

काठमाडौं । 

स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम आएसँगै कार्यपालिका निर्वाचन गराउने क्रम शुरू भएको छ । ७ सय ५३ वटै स्थानीय तहमा रहेको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित स्थानीय तहको कार्यपालिका निर्वाचन गराउन थालेको हो । स्थानीय तह निर्वाचनको मतपरिणाम आएसँगै निर्वाचन अधिकृतको कार्यालयले सोको तयारी अघि बढाएका हो ।

आयोगका अनुसार निर्वाचनलगत्तै मतपरिणाम आएका स्थानीय तहमा कार्यपालिकाको निर्वाचन सम्पन्न भइसकेका छन् भने अरू स्थानीय तहमा क्रमसँगै निर्वाचन गराउने तयारी भइरहेको छ ।नेपालको संविधानअनुसार स्थानीय तहको अन्तिम मतपरिणाम प्राप्त भएको १५ दिनभित्र सम्बन्धित नगरपालिका र गाउँपालिकाको कार्यपालिकाको निर्वाचन गराउनुपर्ने प्रावधान रहेको छ ।

कार्यपालिका निर्वाचन गराउन निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । गाउँ कार्यपालिका तथा नगर कार्यपालिका सदस्य निर्वाचन निर्देशिका २०७८ अनुसार निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीन दिनभित्र निर्वाचन कार्यतालिका प्रकाशित गर्नुपर्ने छ ।

यसैबीच ललितपुर महानगरपालिकाको कार्यपालिकाको निर्वाचन आउँदो जेठ २१ गते हुने भएको छ । सोको लागि मतदाता नामावली प्रकाशन र निर्वाचन कार्यतालिका प्रकाशन गरिसकेको मुख्य निर्वाचन अधिकृत किरण शिवाकोटीले बताउनुभयो । सो निर्वाचनमा स्थानीय तहका निर्वाचित १ सय ३७ जना जनप्रतिनिधि मतदाता रहने छन् ।

गाउँकार्यपालिकामा चार जना महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट दुई जना निर्वाचित हुने प्रावधान रहेको छ भने नगर कार्यपालिकामा पाँच जना महिला र दलित वा अल्पसंख्यक समुदायबाट तीन जना निर्वाचित गराउनुपर्नेछ ।