नवनियुक्त मेयर बालेन्द्रलाई दर्जन चुनौती

साहको पहिलो प्राथमिकता फोहोर व्यवस्थापन



काठमाडौं  । 

भोलि सोमबारबाट काठमाडौं महानगरपालिकाको वागडोर सम्हाल्ने मेयर बालेन्द्र साहलाई उम्मेदवारीका क्रममा आफूले घोषणा गरेको काम पूरा गर्न दर्जनभन्दा बढी चुनौती देखिएको छ । तीमध्ये फोहोर व्यवस्थापन उहाँका लागि प्रमुख चुनौती हुनेछ ।

विजयी घोषणा भएलगत्तै शुक्रबार विजय जुलुसबाटै बन्चरेडाँडा ल्यान्डफिल साइट पुगेका मेयर बालेन्द्रले उपत्यकाको फोहोर व्यवस्थापन आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको थियो । स्थानीय जनताले खादा र मालाले स्वागत गर्न खोज्दा अस्वीकार गरेका मेयर बालेन्द्रले दीर्घकालीन रूपमा फोहोरमैलाको समस्या हटेपछि मात्र जनताको सम्मान लिने बताउनभुएको थियो । फोहोरमैलाका कारण जनताले भोग्नुपरेको स्वास्थ्य समस्या समाधान गर्ने, व्यवस्थित रूपमा फोहोर विसर्जन गर्ने, स्थानीयको मागको सम्बोधन गर्ने आफ्नो प्राथमिकता रहेको बताउनुभएको थियो ।

झन्डै एक महिनाभन्दा बढी समय उठ्न नसकेको फोहोरमैलाको अहिलेसम्म समाधान हुन सकेको छैन । स्थानीयले बन्चरेडाँडा ल्यान्डफिल साइटमा अवरोध गरेका कारण फोहोर व्यवस्थापनमा समस्या छ । कामपा मात्रै होइन, ललितपुर उपमहानगरपालिकासहित उपत्यकाका १८ स्थानीय निकायको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन हुन थालेको छ ।मेयर साहको दोस्रो चुनौती जनताले पाउने सबै सेवा अनलाइनमार्फत गर्नुपर्ने देखिन्छ । कामपाले अनलाइन सेवा सञ्चालन त गरेको छ तर त्यसको राम्रोसँग व्यवस्थापन हुन सकेको छैन । युवाको मतबाट विजयी साहले कामपालाई हाइटेक बनाउने घोषणा गर्नुभएको छ । त्यसका लागि सबै वडालाई सूचनाप्रविधि मैत्री बनाउनुपर्ने चुनौती उहाँमाथि थपिएको छ ।

सबै सडकलाई उज्यालो बनाउने, सबै स्थानमा सीसीटिभी क्यामेरा जडान गर्ने प्रतिबद्धता जनाएका मेयरलाई गर्मीमा धुलाम्य र वर्षात्मा हिलाम्य हुने सडक व्यवस्थित गर्नुपर्ने चुनौती छ । त्यति मात्रै होइन, वर्षौदेखि चल्दै आएको टुक्रे योजना अन्त्य गर्नु पनि उहाँको लागि अर्को चुनौती हो । एउटा सडक पहिलोपटक आधा मात्र मर्मत, पिच वा ढलान गर्ने अनि अर्को वर्ष बाँकी आधा काम सकाउने गर्दा त्यसको गुणस्तरमा समस्या देखिने गरेकाले सडकको गुणस्तरको बारेमा छुट्टै अनुगमन टोली बनाउनु आवश्यक छ । त्यस्तै, कर्मचारीलाई तालिम दिने, लामो समयदेखि करार वा अस्थायी रूपमा काम गरेका कर्मचारीको उचित व्यवस्थापन गर्ने, कार्यालय समयलाई कडाइका साथ पालना गराउने, कामको आधारमा पुरस्कार र दण्डको व्यवस्था गर्नुपर्नेलगायतका काम पनि उहाँले काँधमा थपिएको छ ।

त्यस्तै, नक्सापास प्रणालीमा सुधार ल्याई नक्सा पासमा व्यवधान खडा गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने देखिन्छ । तोकिएको अवधिमा नक्सा पास नगरिदिने, नक्सा पास गर्दा बिचौलियाको बिगबिगी हुने समस्याको अन्त्य गर्न सबै प्रक्रिया अनलाइनमा लगेर त्यसलाई कडाइका साथ कार्यान्वयन गर्नु पनि अर्को चुनौती छ ।

भूकम्पले ध्वस्त र क्षतिग्रस्त सम्पदा पुनर्निर्माणमा भएको सुस्तता अन्त्य गर्नुपर्छ । बाँकी रहेका सम्पदा तत्काल पुनर्निर्माण गर्नुपर्ने आवश्यक्ता त छँदै छ साथै ठेक्का लिएर पनि पुनर्निर्माण हुन नसकेका सम्पदा तत्काल पुनर्निर्माण गर्ने वातावरण तयार गर्नु जरुरी छ । महानगरको शहरी योजना आयोगलाई चलामान बनाउन थप नयाँ योजना अघि बढाउनु जरुरी छ ।

काठमाडौंका जनतालाई खानेपानी उपलब्ध गराउनु अर्को ठूलो चुनौती छ । मेलम्चीको पानी व्यवस्थित रूपमा वितरण गर्ने, पानीको मूल जोगाउने, वर्षात्को पानी संकलन गर्ने कामलाई तत्काल कार्यान्वयन गर्नु पनि मेयर साहका लागि चुनौती हो ।त्यसै गरी पार्किङकको नाममा मनपरी शुल्क उठाउने प्रवृत्ति अन्त्य गर्दै पार्किङ र सवारी व्यवस्थापन गर्नु पनि कामपाको मेयरका लागि अर्को चुनौती हो । सपिङ मल, अस्पताल, सुपरमार्केट, होटललगायतलाई पार्किङ व्यवस्थापन अनिवार्य गराउन लगाउनुका साथै सेवाग्राहीसँग शुल्क लिने व्यवस्था तत्काल खारेज गर्नु आवश्यक छ । भूमिगत पार्किङको अवधारणा शुरू गर्नुपर्छ ।

कामपाको मुख्यालय सुन्धारामा, केही विभाग र कार्यालय बबरमहल र थापाथलीमा रहेका छन् । एउटा काम लिन सुन्धारा आउने र फेरि एक घण्टा समय लगाएर अर्काे विभाग धाउनुपर्ने बाध्यताको अन्त्यका लागि एकीकृत कार्यालय स्थापना गर्नु अति ती सबै विभाग र कार्यालयलाई एकै ठाउँमा ल्याएर सेवा दिनुपर्ने पनि सेवाग्राहीको भनाइ छ । सकिन्छ भने लिलामीमा गएको सिभिल मल, काठमाडौं प्लाजा, रत्नपार्कको टावर लगायतका ठूला भवनमा महानगरको सबै कार्यालय राख्नु आवश्यक छ ।

भूकम्पपछि कामै नलाग्ने भएको ऐतिहासिक दरबार वागदरबार भत्काउनु भन्दा पनि त्यसलाई सबलीकरण गरी प्रयोगमा ल्याउनु आवश्यक रहेको सरोकारवाला बताउँछन् ।दमकल कार्यालय भवन तत्काल बनाउनुपर्छ । शहर नजिक दमकल स्टेसन व्यवस्थापन गरी सेवा दिनका लागि हाल वडा नम्बर ६ रामघाटमा मात्रै सीमित स्टेसन अन्य वडामा पनि बिस्तार गर्नु आवश्यक छ ।त्यस्तै, सुन्दर महानगर बनाउन हरियाली प्रवद्र्धन गर्दै खुला क्षेत्रको संरक्षण गर्ने, तीनकुनेलाई सुन्दर बनाउने, विभिन्न क्षेत्रमा रहेका पार्कलाई व्यवस्थित गर्नु मेयरका लागि अर्को मुख्य चुनौती रहेको छ ।

त्यसै गरी विश्वसम्पदा क्षेत्रमा रहेको सम्पदा क्षेत्रमा निःशुल्क वाइफाइको व्यवस्था गर्र्दै पर्यटकलाई दोहो-याएर नेपाल घुम्न आउने बनाउन महानगरलाई विश्वकै एउटा सुन्दर महानगरको रूपमा विकास गर्न विशेष पहल आवश्यक छ ।स्वतन्त्र उम्मेदवारी दिएर विजयी हासिल गरेको साहप्रति काठमाडौंवासीले ठूलो अपेक्षा राखेका छन् । जनचाहनालाई खेर जान नदिई युवा जोश र जाँगरलाई पूर्ण कार्यान्वयनमा लानुमा नै उहाँको सफलता निर्भर गर्नेछ ।

भोलि १० बजे शपथ

काठमाडौं महानगरपालिकाका नवनिर्वाचत मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोलसहित ३२ वडाका वडा अध्यक्ष र सदस्यको भोलि सोमबार शपथग्रहण हुने भएको छ ।

कामपा प्रशासन विभागका अनुसार बिहान १० बजे काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताका सपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

मेयरले शपथ ग्रहण गरेलगत्तै मेयर साहले उपमेयर डंगोललाई र त्यसपछि सबै वडा अध्यक्षलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । शपथ ग्रहणको कार्यक्रम सकिएपछि सबैजना कामपाको सुन्धारास्थित मुख्यालयमा आउने कार्यक्रम रहेको छ । मेयर र उपमेयरका लागि उहाँहरूले चढ्ने सवारी साधन नै सभागृह पठाइने कामपा प्रशासन विभागले जनाएको छ ।

कामपाका प्रमुख साह र उपप्रमुम डंगोलले बिहान ११ बजे पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ । त्यसलगत्तै बोर्ड बैठक बसेर मेयर साहले पहिलो निर्णय गर्ने कार्यक्रम तय भएको छ । तथापि पहिलो निर्णय कुन विषयमा हुने भन्ने एजेन्डा तयार हुन भने बाँकी नै रहेको कामपाले जनाएको छ ।

चुनौतीहरू

१.फोहोरमैला व्यवस्थापन
२.सूचना प्रविधिको प्रयोग
३.भौतिक निर्माण (सडक, ढललगायत)
४.कर्मचारी व्यवस्थापन
५.नक्सा पास प्रणालीमा सुधार
६. सम्पदा पुनर्निर्माण
७. खानेपानी व्यवस्थापन
७. एकीकृत कार्यालय
८.पार्किङ व्यवस्थापन
९.विपद् व्यवस्थापन पूर्वतयारी
१०. वागदरबार सबलीकरण
११. हरियाली प्रवद्र्धन (पार्क, वृक्षरोपण)

प्रतिक्रिया दिनुहोस्