नेपाली भूमिको रक्षा गर्न प्रतिबद्ध छौं : प्रधानमन्त्री देउवा

0
Shares

काठमाडौं  । 

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सभाको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री देउवाले सीमासम्बन्धी विषय संवेदनशील विषय भएकाले सरकारले यसको समाधान वार्ता र कूटनीतिक माध्यमबाट खोजिरहेको बताउनुभएको हो ।

उहाँले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा सरकार स्पष्ट रहेको र सीमासम्बन्धी विषयलाई नीति तथा कार्यक्रममा उचित स्थान दिइएको पनि उल्लेख गर्नुभयो । नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आइरहेको र सरकारले देशको हितलाई ध्यानमा राखी पारस्परिक लाभ र सार्वभौमिकताका आधारमा सम्बन्ध अघि बढाइरहेको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘नेपाल सरकार एक चीनप्रति नेपाल प्रतिबद्ध छ, बीआरआई परियोजनालाई अघि बढाउन गम्भीर छ ।’

प्रधानमन्त्री देउवाले निर्वाचनको प्रक्रियामाथि संशय व्यक्त नगर्न आग्रह गर्दै एकैपटक निर्वाचन गर्नु चुनौतीपूर्ण रहे पनि सरकारले सीमित साधन स्रोतबाट निष्पक्ष र भयरहित रूपमा निर्वाचन सम्पन्न गरेको दाबी गर्नुभयो ।प्रधानमन्त्री देउवाले कोभिडको महामारी पछि देशको अर्थतन्त्र सामान्य अवस्थामा अघि बढ्दै गरेको तर युक्रेनमा भएको आक्रमणले जटिलता निम्ताएको बताउनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रम आर्थिक पुनःस्थापना गर्दै जीवनलाई सहज पार्नेतर्फ केन्द्रित भएको दाबी पनि गर्नुभयो ।

सरकारले गुणस्तरीय सेवा प्रवाहसँगै पूर्वाधार निर्माणको कामलाई उच्च प्राथमिकता दिएर अघि बढने नीति लिएको बताउँदै प्रधानमन्त्री देउवाले कालाबजारी गर्ने र कृत्रिम अभाव गर्नेमाथि कारवाही हुने बताउनुभयो । कृषि उत्पादन बढाउने कार्यक्रम सञ्चालन हुने बताउँदै उहाँले तत्काल मलखादको व्यवस्था गर्न सरकार लागि परेको बताउनुभयो । प्रतिनिधिसभामा उहाँले व्यापार घाटा कम गर्न सरकारले ध्यान दिएको बताउनुभयो ।

उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा सर्वोच्च अदालतको फैसला हेरेर थप निर्णय लिइने बताउनुभयो । उहाँले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न बजेटको व्यवस्था गरिएको बताउँदै निर्माण हुनेमा शंका नगर्न आश्वस्त पार्नुभयो । त्यसै गरी उहाँले एमसीसीको व्याख्यात्मक घोषणा एमसीसीको अंग नै भइसकेको जानकारी पनि गराउनुभयो । नेपालका उद्योगलाई आवश्यक नपर्ने सुपारी केराउलगायतका वस्तु आयात नगर्ने बताउँदै प्रधानमन्त्री देउवाले राष्ट्रिय सहमति निर्माण गरेर नागरिकता विधेयक अघि बढाइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित, आज बजेट

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०७९-०८० का लागि संघीय संसद्मा प्रस्तुत भएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिएपछि बहुमतले नीति तथा कार्यक्रम पारित गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेस गरेको प्रस्ताव प्रतिनिधिसभा बैठकले बहुमतले पारित छ । राष्ट्रिय सभाबाट भने नीति तथा कार्यक्रम शुक्रबार नै बहुमतले पारित भइसकेको छ । दुवै सदनबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएकाले अब सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७९-०८० को बजेट आज (आइतबार) दिउँसो ४ बजे प्रस्तुत गर्ने भएको छ । संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९-०८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नुहुनेछ । सभामुख सापकोटाले बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदलाई दिउँसो ३ बजेर ३५ मिनेटभित्रै संसद् भवनमा प्रवेश गर्नका लागि रुलिङ गर्नुभएको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने प्रावधान रहेको छ ।