बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जन गर्दा तनाबग्रस्त

एक दर्जन स्थानीय पक्राउ , स्थानीय भन्छनः फोहोर खसाल्न दिँदैनौ

0
Shares

काठमाडौं । 

शहरी विकास मन्त्री रामकुमारी झाक्रिको निर्देशनपछि आज बिहानबाट बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिर्सजन  भएको छ । तर फोहोर बिर्सजन भएको तीन घण्टा बित्न नपाउँदै प्रहरी र स्थानीयबिच हात हालाहाल भएको थियो । बिना तयार सुनियोजित रूपमा बन्चरे ल्याण्डफिलमा फोहोर विसर्जन गरेको भन्दै स्थानीयले आन्दोलन गरेका थिए ।

 फोहोरको सवारी साधनसंगै  करिब ४ सयको संख्यामा  प्रहरी पुग्दा स्थानीयले नाराबाजी गरेका थिए । प्रहरीले माइकिङ गरी ल्याण्डफिल साइटका प्रदर्शन नगर्न आग्रह गरेको थियो ।स्थानीयले  लगातार प्रदर्शन गरेपछि प्रहरीले सामान्य बल प्रयोग गरी स्थानीय संयोजक श्रीराम ढुंगाना, सनत उप्रेती सहित  एक दर्जन बढीलाई नियन्त्रणमा लिएको थियो ।

  स्थानीयलाई नियन्त्रणमा लिए लगत्तै साना ठुला गरी एक सय ट्रक साधनको फोहोर बिसर्जन भएको थियो । काठमाडौं महानगरपालिका सिसडोल साइट इन्चार्ज  सरकारदीप श्रेष्ठले  बिहान करिब सय ट्रक फोहोर विसर्जन भएको बताउनुभयो । स्थानीयको मागको विषयमा छलफल गरेर मात्र फोहोर विसर्जन गर्ने भनेपछि बिहान ११ बजेबाट फोहोर लैजान रोकिएको उहाले बताउनुभयो ।

उहाँले भन्नुभयो–भोलि फेरी सुरक्षाकर्मी परिचालन गरी फोहोर खसाल्ने तयारीमा छौ । उहाँका अनुसार बञ्चरेडाँडाका स्थानीयले माग पुरा नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान राखेका छन् ।

 पक्राउपछि नेपाल समाचारपत्रसँग कुरा गर्दै स्थानीय संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले स्थानीय र यस क्षेत्रका स्थानीय तहको प्रतिनिधिलाई समेत जानकारी नदिइ एकाएक फोहोर ल्याएपछि बाध्य भएर विरोध जनाएको बताउनुभयो । उहाँले भन्नुभयो–बल प्रयोग गरेर फोहोर बिर्सन गरिएकोमा हाम्रो आपत्ती छ छापामार शैलीमा  भोलीपनि फोहोर ल्याए कडा प्रतिबाद गर्नेछौ  ।

  सोमबार मन्त्री झाक्रिले सुरक्षाकर्मीको सायहोगमा  राजधानीको फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा  विसर्जन गर्न निर्देशन दिएपछि कामपाले  प्रहरीको सहयोगमा फोहोर विसर्जन गरेको थियो । स्थानीय निकायका प्रतिनिधिसँग सल्लाह नगरी एकलौटी रूपमा फोहोर ल्याएकोमा आपत्ती जनाउँदै धुनिवेशी नगरपालिकाका नवनिर्वाचित मेयर वालकृष्ण आचार्यले  समन्वय गरेर मात्र फोहोर विसर्जन गर्नुपर्ने बताउनुभएको थियो ।

  आज बिहान अचानक  फोहोर लिएको सवारी साधन बञ्चरेडाँडा पुगेपछि सुरुमै स्थानीयले नाराबाजी गरेका थिए । त्यस बेला प्रहरीले जबरजस्ती फोहोर विसर्जन गरेको थियो । दिउँसो पुनः फोहोर लैजान लाग्दा प्रहरीको अनुरोधमा कामपाले रोकेको छ ।

 कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले आजबाट निरन्तर रूपमा फोहोर बिर्सजन हुने बताउनुभयो । सोमबार मन्त्रालयमा भएको बैठकमा मन्त्री झाक्रिले तत्काल बन्चरे ल्याण्डफिल साइटमा फोहोर लैजान कामपा कार्यकारी अधिकृत लोकनाथ पौडेल लगायतलाई निर्देशन दिनुभएको थियो । त्यस लगत्तै आज बिहानैबाट प्रहरी प्रयोग गरी फोहोर विसर्जन गरिएको थियो ।