गण्डकीमा कांग्रेसले गुमायो



पोखरा । 

नेकपा माओवादीले गोरखा जिल्लामा पाँच वर्षअघि २ पालिका जितेको थियो । ११ पालिका रहेको गोरखामा कांग्रेसले ९ पालिकामा जित हासिल गरेको थियो ।

तर, अहिले गोरखामा ठ्याक्कै नतिजा उल्टिएको छ । माओवादीले ९ पालिका जित्दा कांग्रेसले २ पालिकामा जित हासिल ग¥यो । जसका कारण कांग्रेसलाई घाटा परेको छ ।गण्डकी प्रदेशमा ४४ पालिकामा जित हासिल गरेको कांग्रेस अहिले खुम्चिएको छ । ३४ पालिका जितेको एमालेले भने एक पालिका थपेको छ ।२०७४ सालको स्थानीय निर्वाचनबाट गण्डकी प्रदेशमा नेपाली कांग्रेस पहिलो पार्टी बनेको थियो । तत्कालीन निर्वाचनमा कांग्रेसले गण्डकीका ४४ पालिकामा आफ्नो झन्डा गाड्न सफल भएको थियो । कांग्रेसभन्दा ३४ पालिका जित्दै नेकपा एमाले दोस्रो बन्दा माओवादी तेस्रो पार्टी थियो ।

अहिले पनि माओवादी तेस्रो पार्टी नै छ । तर, पालिका जित भने बढाएको छ ।पाँच वर्षपछिको स्थानीय तह चुनावमा अघिल्लो वर्षझैं नेपाली कांग्रेस पहिलो पार्टी बने पनि जितेका पालिका भने गुमाउन पुगेको छ । ८५ पालिका रहेको गण्डकीमा ८३ पालिकाको नतिजा आइसकेको छ । अब २ पालिकाको मात्रै नतिजा आउन बाँकी छ ।८३ पालिकाको नतिजा आउँदा नेपाली कांग्रेस ३५ पालिकामा खुम्चिएको छ । अग्रता कायम गरिहेको तनहुँको व्यास नगरपालिकाको नतिजा भने आउन बाँकी छ । व्यासमा कांग्रेसका मेयर उम्मेदवार बैकुण्ठ न्यौपानेलाई दीपकराज जोशीले पछ्याइरहेका छन् । जोशीलाई नेकपा एमालेको समर्थन छ ।

२ पालिका मात्रै गन्न बाँकी हुँदा कांग्रेस पहिलो बन्ने निश्चित छ । अघिल्लोपटक पनि दोस्रो बनेको नेकपा एमाले भने यसपटक एउटा पालिका बढाएको छ भने तेस्रो बनेको नेकपा माओवादीले सबैभन्दा राम्रो उपलब्धि हासिल ग-यो ।नेकपा माओवादीले गोरखामा नेपाली कांग्रेसबाट दोहोरिएका पालिका प्रमुखहरूलाई नै पराजित गरेको थियो । बागलुङको ताराखोला गाउँपालिकामा अघिल्लोपटक र यसपटक पनि जित दोहो-याएको छ । त्यस्तै, तनहुँको बन्दीपुर गाउँपालिका गुमाएर आँबुखैरेनी गाउँपालिकामा जितेको हो । माओवादीले अघिल्लोपटक जितेको लमजुङको दोर्दी गाउँपालिका भने यसपटक गुमाएको छ ।

नेकपा एमालेले अघिल्लोभन्दा यसपटकको निर्वाचनमा आफ्नो स्थिति सुधार गरेको छ । अघिल्लोपटक नेकपा एमालेले ३४ पालिका प्रमुख जितेको थियो । यसपटक उक्त संख्या ३५ पु-याएको छ । एमालेको प्रभाव भूमि भनेर चिनिएको कास्की जिल्लामा पनि यसपटकको नेकपा एमालेले हार व्यहोरेको छ । अघिल्लोपटक कास्कीका ५ पालिकामध्ये नेकपा एमालेले ४ पालिकामा प्रमुखसहित सबै पालिका उपप्रमुखमा एकछत्र राज गरेको थियो । तर, यसपटक एमालेले माछापुच्छे र मादी गरेर २ पालिका गुमाइसकेको छ । यता, भूगोलका हिसाबले देशकै सबैभन्दा ठूलो महानगर पोखरा महानगरमा पनि आइतबार दिउँसो ७३ प्रतिशत गणना भइसक्दासम्म नेकपा एमालेबाटै छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादीले ३ हजारभन्दा बढी मतान्तरले पछाडि छोडेको छ ।

स्याङ्जाका ११ पालिकामध्ये अघिल्लोपटक नेकपा एमालेले ९ पालिकामा जित निकालेको थियो । तर, अहिले एमालेले ६ पालिकामा सीमित हुँदा नेपाली कांग्रेसले ५ वटा पालिका जितेको छ ।हिमाली जिल्ला भनेर चिनिएको मुस्ताङमा पनि नेकपा एमालेले राम्रो सुधार गरेको छ । अघिल्लोपटक दुई पालिकामा खुम्चिएको नेकपा एमालेले यसपटक ४ पालिकामा जित निकालेको छ । मुस्ताङमा ५ गाउँपालिका छन् । म्याग्दी जिल्लामा पनि एमालेले राम्रो सुधार गरेको छ ।

अघिल्लो पटक हार व्यहारेका ४ पालिकामा यसपटक जित निकालेको छ । म्याग्दीको १० पालिका मात्रै नेपाली कांग्रेसले जित निकालेको छ ।बागलुङमा भने नेकपा एमालेले अघिल्लोपटकको विरासत गुमाएको छ । १० पालिका रहेको बागलुङमा अघिल्लो निर्वाचनमा ४ वटामा कांग्रेस र ४ वटामा नेकपा एमालेले जितेको थियो । तर, यसपटक नेपाली कांग्रेसले ६ पालिका जित्दा नेकपा एमाले एउटा मात्रै पालिकामा जित निकालेको छ । राष्ट्रिय जनमोर्चाले यसअघि १ पालिका जित्दा अहिले २ पालिकामा जित हासिल गरेको छ । माओवादी भने १ पालिकामै सीमित भएको छ ।

अघिल्लोपटक लमजुङमा ५ पालिका जितेको नेकपा एमालेले यसपटक एउटा पालिका गुमाएको छ । यसपटक ८ पालिकामध्ये नेकपा एमाले र कांग्रेसले समान ४-४ पालिका जितेका छन् । माओवादीले भने अहिले पालिका गुमाएको छ । गत निर्वाचनमा १ पालिका जितेको थियो ।
एमालेले नवलपुरमा भने निकै सुधार गरेको छ । नवलपुरको ८ पालिकामध्ये एमालेले ६ वटा पालिकामा जित निकालेको छ । अघिल्लो निर्वाचनमा नवलपुरमा एमालेले २ वटामात्रै पालिका जितेको थियो । तर, यसपटक एमालेले अघिल्लो नतिजा उल्ट्याएको हो ।नवलपुरमा नेकपा एमालेले यसपटक देवचुली, मध्यविन्दु, बुलिङटार, विनयीत्रिवेणी, कावासोती र बादीकाली जितेको छ । यसमध्ये अधिकांश पालिका नेपाली कांग्रेसबाट नेकपा एमालेले खोसेको हो । गैंडाकोट र हुप्सेकोट मात्रै नेपाली कांग्रेसको पोल्टामा परेको छ । यसमध्ये गैंडाकोट अघिल्लोपटक नेकपा एमालेले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्