रुपन्देहीका ७ पालिकाको नतिजा सार्वजनिक : कांग्रेस पहिलो, एमाले दोस्रो

0
Shares

बुटवल।

रुपन्देहीका १६ मध्ये ७ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । २ नगरपालिका र ५ गाउँपालिकाको नतिजा सार्वजनिक भएमध्ये नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दोस्रो पार्टी भएका छन् । २०७४ सालको चुनावमा रुपन्देहीमा एमाले पहिलो पार्टी थियो ।

सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसका इश्तियाक अहमद खान विजयी भएका छन् । खानले राप्रपाका सागर प्रताप राणालाई पराजित गरेका हुन् ।
नगर प्रमुखमा निर्वाचित भएपछि खानले शिक्षा, स्वास्थ्य र नगरको सरसफाईलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा नेकपा एमाले विजयी भएको छ । मेयर पदमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका हुन्। यस्तै कञ्चन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नवराज ढकाल निर्वाचित भएका छन् । एमालेका दिनानाथ आचार्यलाई १४३९ मत अन्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । उपाध्यक्षमा माओवादी केन्द्रकी मौसमी थापा विजयी भएकी छिन् ।

यस्तै शुद्धोधन गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका बिष्णु प्रसाद बस्याल निर्वाचित भएका छन् । गाउँपालिकाको उपाध्यक्षमा भने एमालेकी शान्तादेवी ज्ञवाली निर्वाचित भएकी छिन । नवनिर्वाचित अध्यक्ष बस्यालले शिक्षा, स्वास्थ्य र बेरोजगारी समस्या समाधानलाई प्राथमिकता दिएर काम गर्ने बताए ।

यस्तै रुपन्देहीको रोहिणी गाउँपालिकामा जनता समाजवादी पार्टीका विद्या प्रसाद यादव विजयी भएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका ताहिर अलि भाटलाई पछि पार्दै यादव निर्वाचित भएका हुन् । उपाध्यक्षमा राप्रपाकी शिवकान्ती चमार निर्वाचित भएकी छिन् ।

यस्तै रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका ध्र्रुवनारायण चौधरी निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीकी नर्वदीदेवी उपाध्याय निर्वाचित भएकी छिन् ।

रुपन्देहीको ओमसतिया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मञ्जित कुमार यादव विजयी भएका छन् ।
यादवले राप्रपाका तिलकसिंह कोइराललाई पराजित गरेका हुन् । उपाध्यक्षमा नेपाली कांग्रेसकी सुनिता चौधरी निर्वाचित भएकी छिन् । यो समाचार तयार गर्दासम्म जिल्लाका बुटवल उपमहानगर सहित ९ वटा पालिकाको नतिजा सार्वजनिक हुन बाँकी रहेको छ ।