पाल्पामा दुइवटा पालिकाको नतिजा सार्वजनिक दुवैमा एमाले विजयी

तिनाउँमा एमालेका श्रेष्ठ, पूर्वखोलामा थापा


पाल्पा  ।
गत वैसाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पाल्पाका १० पालिका मध्ये दुइवटाको नतिजा सार्वजनिक भएको छ । जसमा दुवैमा नेकपा एमालेले अध्यक्षमा विजय हासिल गरेको छ ।

पाल्पाको तिनाउ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रेम श्रेष्ठ विजयी भएका छन् । गठबन्धन दलका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार राजेश श्रेष्ठलाइ हराउँदै प्रेम गाउँपालिका अध्यक्ष बनेका हुन् । उपाध्यक्षमा भने नेपाली कांग्रेसका लालबहादुर थापा विजयी भएका छन् ।अध्यक्षमा विजयी श्रेष्ठले ५ हजार ९० मत ल्याएर प्राप्त गरेको निर्वाचन अधिकृत जनार्दन अधिकारीले बताए । निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजेश श्रेष्ठले ४ हजार ४ सय ६६ मत प्राप्त गरे । तिनाउँमा कुल १० हजार ३१६ मत खसेको थियो ।

उपाध्यक्षमा विजयी थापाले ५ हजार ८२ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सावित्रा गुरुङ रानाले ४ हजार ४ सय ६५ मत प्राप्त गरिन् । २०७४ सालको निर्वाचनमा तिनाउ गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो ।तिनाउ गाउँपालिकाको वडाध्यक्षमा १ मा एमालेबाट भुवानसिंह चिदी, २ बाट यादव अर्याल, ३ बाट चित्रबहादुर थापा ४ बाट तुलबहादुर आले ५ बाट इन्द्रा चिदी र ६ वडाबाट टोमबहादुर पुन विजयी भएका छन् । ३ का थापा र ६ का पुन कांग्रेसका हुन् । अन्य वडाका सबै एमालेबाट निर्वाचित भएका हुन् ।

पाल्पाको त्यस्तै पूर्वखोला गाउँपालिकामा एमालेका अध्यक्ष सहित सवै वडाका सवै जना सोही पार्टीबाट विजयी वनेका छन ।स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत पाल्पाको पूर्वखोला गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार नुनबहादुर थापा ६,०३९ मत ल्याई विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० उम्मेदवार मिनप्रसाद गिरीलाई ४,७८२ मतान्तरले पराजित गरेका हुन् । पराजित मिनप्रसाद गिरीले १,२५७ मत ल्याएका छन् ।त्यस्तै उपाध्यक्षमा समेत एमालेकी भागिरथि भट्टराई ५,८९४ मतसहित विजयी भएकी छिन् । दोस्रो स्थानमा रहेकी कांग्रेसकी विष्णुकुमारी आचार्यले २२५० मत ल्याइन् ।

निर्वाचन आयोगका अनुसार पूर्वखोलामा ६ वटै वडा र सबै सदस्यमा पनि एमालेले जित हात पारेको छ । वडा नम्बर १ मा गिरिमान आले, २ मा निरबहादुर सारु, ३ मा कृष्णप्रसाद भट्टराई, ४ मा मेहरसिंह थापा, ५ मा विष्णुकुमार पल्ली र ६ मा धनबहादुर घर्ती विजयी भएका हुन् ।
पूर्वखोलामा २०७४ सालको निर्वाचनमा पनि अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित सबै सदस्य एमालेबाटै निर्वाचित भएका थिए ।