उम्मेदवार परिचयपत्र हो कि फोटोकपी पेपर ?

स्थानीय तहको निर्वाचन

0
Shares

काठमाडौं  । 

परिचयपत्र केवल बाहकको परिचयका लागि मात्र होइन, त्यसले परिचयपत्र जारी गर्ने संस्थाको पनि परिचय दिन्छ । त्यसैले ठूलाठूला कम्पनी, बहुराष्ट्रिय कम्पनी तथा अन्तर्राष्ट्रिय संघसंस्थाले मात्र होइन, सानासाना कम्पनी र विद्यालयले समेत आफूले जारी गर्ने परिचयपत्र सकेसम्म आकर्षक र छरितो बनाउँछन् ।

तर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारका साथै मतदानस्थल र मतगणनास्थलमा उपस्थित रहने तिनका प्रतिनिधिका लागि जारी गरेको परिचयपत्रले यो अवधारणालाई सरासर अस्वीकार गरेको छ । जसले गर्दा यसपटकको स्थानीय निर्वाचनका उम्मेदवार तथा तिनका प्रतिनिधिले ‘फोटोकपी पेपर’ लाई परिचयपत्रका रूपमा घाँटीमा झुन्ड्याउन बाध्य भएका छन् भने आयोगको छविमा समेत नकारात्मक असर पु¥याएको छ । यस्तो परिचयपत्रले धारणकर्तालाई असहज महसुस गराउनुका साथै निर्वाचन आयोगलाई समयानुकूल चल्न नसकेको संस्थाका रूपमा चित्रण गरेको छ । काठमाडौं महानगरपालिकाको मत गणनास्थल राष्ट्रिय सभागृहमा मत गणनाको तेस्रो दिन आइतबार भेटिएका कतिपय उम्मेदवार तथा तिनका प्रतिनिधिले नेपाल समाचारपत्रसँगको कुराकानीमा यो परिचयपत्र भिर्दा कैदीलाई फोटो खिचाउन भिराइदिएको झैं भान हुने गरेको बताए ।

आयोगले सबैका लागि यस्तो परिचयपत्र बनाएको भने होइन । निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट जारी भएको झन्डै ६ लाख ५० हजार थान परिचयपत्र भने ‘फोटोकपी पेपर’मा नभई निर्वाचन आयोगको लोगोसहितको छरितो र सानो आकारमा छ । आयोगको केन्द्रीय कार्यालयले मतदान अधिकृत, निर्वाचन आयोगको प्रतिनिधिलगायतलाई यस्तो परिचयपत्र उपलब्ध गराएको हो । तर, आयोगको जिल्ला कार्यालयबाट उम्मेदवार तथा तिनका प्रतिनिधिका लागि उपलब्ध गराइएको परिचयपत्र भने ‘फोटोकपी पेपर’ मा छापिएको छ ।
काठमाडौं महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा खटिएका निर्वाचन अधिकृत राजु खतिवडाले केन्द्रीय कार्यालयले नै यस्तो खालको परिचयपत्र जिल्ला कार्यालयमा पठाएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘डिजाइन मात्र दिएर हामीलाई नै छाप्न दिएको भए हामी राम्रै खालको छाप्ने थियौं । तर, हामीलाई अधिकारै दिइएन, उतैबाट पठाइदिए । निर्वाचनमा खटिने हाम्रा कर्मचारीका लागि परिचयपत्र चाहिँ हामीले आफैंले छपायौं ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका कामपा वडा नं. १३ का वडा सदस्य पदका उम्मेदवार आनन्द राजथलाले मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौं जिल्लाले दिएको परिचयपत्र देखाउँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामी जनताको प्रतिनिधिलाई निर्वाचन आयोगले गरेको व्यवहार हेर्नुस्, कति हेप्न सकेको होला ।’ उहाँसँगै रहनुभएका राप्रपाबाट कामपा वडा नं. ३२ का महिला सदस्य पदका उम्मेदवार शान्ता बस्नेत (खड्का) ले भन्नुभयो– ‘परिचयपत्र निर्वाचन सकेपछि पनि सम्झनास्वरूप घरमा सजाएर राख्ने मन छ तर यस्तो परिचयपत्र के राख्नु ?’ राप्रपाबाटै काठमाडौं महानगरका लागि मेयरका उम्मेदवार मदनदास श्रेष्ठका प्रतिनिधि केदारबहादुर धमलाले पनि परिचयपत्र हेर्दै दिक्क लाग्दो भएको बताउनुभयो । यस्तो पनि परिचयपत्र हुन्छ भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयो–‘आयोगले त्यत्रो बजेट पाएको छ, परिचयपत्र छापेको ताल भने यस्तो छ ।’

परिचयपत्र भिर्न लाज लागेर हुन सक्छ, केही उम्मेदवार र तिनका प्रतिनिधिले परिचयपत्र खल्तीमा बोकेर हिँडेका थिए । कामपाको मेयर पदका स्वतन्त्र उम्मेदवार नीमकान्त पाण्डेका प्रतिनिधि नवीन विष्टले खल्तीबाट परिचयपत्र झिकेर देखाउँदै भन्नुभयोे– ‘यसरी पट्याएर खल्तीमा राख्ने हो, चाहिने बेलामा खल्तीबाट झिकेर देखाउने हो ।’

छ केन्द्रमा मतदान

गत वैशाख ३० गते स्थगन भएकामध्ये चार स्थानीय तहका विभिन्न छ मतदान केन्द्रमा हिजो आइतबार निर्वाचन भएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचन जारी रहेका मतदानस्थलमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकाको जनता माविको २ केन्द्र, कालीकोटको रास्कोट गाउँपालिकाको रमाल मष्टो माविको १ केन्द्र, कालीकोटकै पचालभरना गाउँपालिकाको जनता माविको १ केन्द्र, बझाङको जयपृथ्वी नगरपालिकाको सुनीपिपल चौर माविको २ मतदान केन्द्र रहेको छ ।

राजनीतिक दल र उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका ८५ मतदान केन्द्रमध्ये १९ मतदान केन्द्रमा निर्वाचनको नयाँ मिति तोकिएको थियो । जेठ २ गते निर्वाचन हुने मतदानस्थलमा धनकुटाको शहीदभूमि गाउँपालिकाको ठाकुरदेवी माविको ३ केन्द्र, रामेछापको खाँडादेवी नगरपालिकाको राकमथुमको ३ केन्द्र, बझाडको केदारस्युँ गाउँपालिकाको जगन्नाथ माविका २ केन्द्र, बझाडको सुर्मा गाउँपालिकाको कृष्ण प्राविको १ केन्द्र र सोही पालिकाको आधाबगर माविको २ केन्द्र रहेका छन् ।

यसै गरी जेठ ३ गते निर्वाचन हुने मतदानस्थलमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको श्रीराम माविको २ मतदान केन्द्र रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।