पालिकाका वडाहरुमा कांग्रेसको प्यानल


हेटौंडा ।

स्थानीय तह निर्वाचनअन्तर्गत् शनिबार दिउँसोसम्म वागमती प्रदेशको मकवानपुरका पालिकाहरुमा नेपाली कांग्रेसले जित हात पारेको छ । भीमफेदी गाउँपालिका वडा नम्बर–१ को मतगणना सम्पन्न भएको छ । मतगणनाअनुसार वडामा नेपाली कांग्रेसका सोमबहादुर स्यांतान ९ सय १० मतसहित विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वडामा नेकपा एमालेकी पञ्चमाया स्यांतानले ६ सय ५५ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुर्गाबहादुर गोलेले ५ मत प्राप्त गर्नुभएको थियो । वडा सदस्यमा नेपाली कांग्रेसका मुक्ति लामा (८ सय ८२), राजकुमार स्यांतान (८ सय ६२), महिला सदस्यमा कांग्रेसकी सुमित्रा थिङ (८ सय १६) र दलिततर्फ सदस्यमा कांग्रेसकी गोपिनी बिश्वकर्मा (९ सय ८) विजयी हुनुभएको छ ।मनहरी गाउँपालिका वडा नम्बर–१ मा नेपाली कांग्रेसका शिवप्रसाद खनाल वडा अध्यक्ष निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार खनालसहित उहाँको प्यानल विजयी भएको हो । खनाल नेपाली कांग्रेसबाट दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।
खनालले १ हजार ९३ मत ल्याउनुभएको थियो ।

नेपाली कांग्रेसबाट सदस्यहरुमा प्रदीप ढकाल, सानुकान्छा घलान, सिद्धिमाया तामाङ र साबित्री घिमिरे विजयी हुनुभएको छ । वडामा १ हजार ७ सय मत ८७ मत खसेको थियो । खनालका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवारले ३ सय ९३ मत पाएका थिए भने समाजवादी र माओवादीका गठबन्धनले ३ सय ३१ मत पाएको थियो । वडाबाट गाउँपालिका अध्यक्षका लागि कांग्रेस उम्मेदवारले ९ सय ९८ र उपाध्यक्ष उम्मेदवारले ४ सय ६४ मत पाएको जनाइएको छ ।

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–१ को पनि मतगणना सम्पन्न भएको छ । मतगणनाअनुसार वडामा नेपाली कांग्रेसका सुवास थापामगर ७ सय ५३ मतसहित निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।वडामा नेकपा एमालेका राजु बस्नेतले ५ सय ९४ मत पाउनुभएको थियो । वडा सदस्यमा नेपाली कांग्रेसका मनकृष्ण थापामगर, बुद्ध घिसिङ र गोमा लामा विजयी हुनुभएको छ भने दलिततर्फ सदस्यमा नेकपा एमालेकी लक्ष्मी दमाई सर्वसम्मत हुनुभएको थियो ।

वडामा १ हजार ६ सय ९२ मतदाताले मतदान गरेका थिए । मतगणनाको क्रममा मकवानपुरगढी गाउँपालिकामा विवाद भएको छ । सर्वदलीय बैठकले मतगणना सुरु हुनुअघि गाउँपालिकाका कर्मचारी युवराज पौडेललाई मतगणनामा सहभागी नगराइने भने पनि उहाँलाई मतगणनाको क्रममा भित्र पठाइएको भन्दै विरोध भएपछि मतगणना रोकिएको छ ।