नाका सिल, अलपत्र परेकाको उद्धार

0
Shares

बाँके

नेपालगञ्ज मंगलबार राति १२ बजेदेखि सिल गरिएको छ । चुनावलाई मध्यनजर गर्दै नाका सिल गरिएको हो ।
भारतीय प्रहरीले नेपाली नागरिकता भएकालाई नेपालतर्फ आउन दिइरहेको छ । नेपाल प्रहरीले आधारकार्ड भएका व्यक्तिलाई भारततर्फ जान दिएको छ ।

अलपत्र परेका यस्ता व्यक्तिलाई आउन र जान दिने भनिएको छ । रातिमा नेपालगञ्ज नाकामा आइपुगेका पहाडी जिल्लाका मानिसलाई बिहान आउन दिइएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले नाका सिल भएको थाहा नपाएर नाकामा आइपुगेका व्यक्तिलाई अलपत्र पर्न नदिई भित्र्याइएको बताउनुभयो । ‘एकलट भित्र्याइयो । अब आएकालाई नेपाल प्रवेश गर्न दिँदैनौं’, उहाँले भन्नुभयो– ‘आइरहने । भित्र्याइरहने भए त सिल गरेको अर्थ नै भएन नि ।’ नाका सिल गरिएपछि सधैं भीडभाड रहने भन्सार सुनसान भएको छ । वैशाख ३० गते १२ बजेसम्मलाई नाका सिल गरिएको हो ।

यसपालिको चुनावमा भारतमा रहेका धेरै मानिस भोट हाल्न आएका छैनन् । चुनावको केही दिनदेखि घर फर्किनेको भीडभाड हुने नेपालगञ्ज नाका यसपालि सुनसानजस्तै थियो । मौसमी कामका लागि भारत पुगेका नेपालीलाई चुनावले खासै छोएको देखिएको छैन ।

जोखिममा १ सय ६ मतदान केन्द्र

निर्वाचनको दिन आउनै लाग्दा निर्वाचनमा खटिएका कर्मचारीहरु मतदान केन्द्रको व्यवस्थापनमा जुटेका छन्, मतदाता परिचयपत्र वितरण गरिरहेका छन् । बाँकेमा १ सय ३६ वटा मतदानस्थल छन् । त्यसमा ३ सय ७९ वटा मतदान केन्द्र छन् । स्थानीय प्रशासनले १ सय ६ वटा मतदान केन्द्रलाई जोखिमको सूचीमा राखेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जोखिमको सूचीमा परेका मतदान केन्द्रहरु धेरैजसो दक्षिण भेगका रहेको जानकारी दिनुभयो । बाँके सीमावर्ती जिल्ला होे । यसको दक्षिणमा भारत पर्दछ । खुला सीमानाका कारण दक्षिणका मतदान केन्द्रलाई जोखिमको सूचीमा राखिएको छ । पूर्वको नरैनापुरदेखि नेपालगञ्ज हुँदै पश्चिमको खजुरा गाउँपालिकासम्मको ६५ किलोमिटर सीमामा रहेका मतदान केन्द्रलाई जोखिममा राखेको प्रशासनले त्यहाँ निगरानी बढाएको छ ।

सुरक्षाको तीन घेरामा चुनाव हुँदै छ । बाहिरी घेरामा नेपाली सेना रहेको छ । सेनाले गस्ती, पेट्रोलिङ गरिरहेको छ । त्यसपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको घेरा रहेको छ । जिल्लाका हरेक मतदान केन्द्रमा सहज तरिकाले गएर भोट हाल्ने व्यवस्था मिलाएको प्रशासनले जनाएको छ ।

खुला सीमानाका कारण नेपालमा होस् या भारतमा हुने चुनावमा सधैं जोखिम हुने गरेको छ । यद्यपि, ६५ किलोमिटरभित्र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को अढाई किलोमिटरमा र सशस्त्र प्रहरीको पाँच किलोमिटर आसपासमा पोस्ट रहेका छन् । जिल्लाका सुरक्षा अधिकारीले जोखिमपूर्ण भनेर सूचीमा राखेका केन्द्रमा पछिल्ला चुनावहरुमा कुनै अप्रिय घटना भएका छैनन् ।