न्यादी जलविद्युत् आयोजनाबाट ३० मेगावाट बिजुली उत्पादन


लमजुङ ।

लमजुङको ङादीखोलामा निर्माण सम्पन्न भएको ३० मेगावाट न्यादी जलविद्युत् आयोजनाले व्यावसायिक विद्युत् उत्पादन शुरू गरेको छ । परीक्षण उत्पादन गरिसकेको आयोजनाले वैशाख अन्तिम साताबाट व्यावसायिक उत्पादन गर्ने आयोजनाका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताउनुभयो । उहाँले भन्नुभयो–परीक्षण उत्पादन सकिएपछि वैशाख अन्तिम साताबाट प्राधिकरणलाई बिजुली बिक्री गरिनेछ ।

आयोजनाको बिजुली २२० केभी मस्र्याङ्दी कोरिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सबस्टेसनमा जोड्ने गरी प्राधिकरणसँग सम्झौता भएको थियो ।बुटवल पावर कम्पनी (बीपीसी) को सहायक न्यादी हाइड्रोपावर कम्पनीले निर्माण गरेको आयोजनाले खुदी सबस्टेसनको ६ किलोमिटर प्रसारण लाइन आफैं बनाएको छ । मस्र्याङ्दी गाउँपालिका–३ खुदी सबस्टेसनबाट मस्र्याङ्दी–८ लाम्पाटासम्म थप ३ किमी प्रसारण लाइन निर्माण गरेर माथिल्लो मस्र्याङ्दी ‘ए’ ले बनाएको लाम्पाटास्थित १३२ केभीको चौथो टावरमा बिजुली जोडिएको छ ।

आयोजनाका अनुसार करिब दुई महिना अगावै आयोजना बिजुली उत्पादन गर्न तयार भएको थियो । वैशाख ९ गते राति ८ बजेदेखि परीक्षण उत्पादन गरिरहेको आयोजनाले नेपाल विद्युत् प्राधिकरणलाई अहिले १० मेगावाट विद्युत् निःशुल्क दिइरहेको छ ।वैशाख ४ देखि ट्रान्समिसन लाइनको परीक्षण प्रसारण गरेकामा सफल भएपछि आयोजनाले परीक्षण उत्पादन थालेको हो । परीक्षण उत्पादनका क्रममा १५ दिन आयोजनाले प्राधिकरणलाई निःशुल्क बिजुली दिनेछ । चिनियाँ कम्पनी च्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनी लिमिटेडले आयोजना बनाएको हो ।

मस्र्याङ्दी ६ नाइँचे गाउँमाथि ङादी नदीमा ड्याम बनाएर ठूलीबेंसीदेखि ताराचोक जाने सडकनजिकै ङादी नदीछेउमा निर्मित विद्युतगृहमा पानी खसालेर बिजुली उत्पादन गरिएको छ । करिब ४ अर्ब ३८ करोडमा सक्ने गरी डिजाइन गरिएको आयोजनामा ब्याजसहित ६ अर्ब ४ करोड २८ लाख रुपियाँ खर्च भएको अनुमान छ ।