मतदाता रिझाउन अन्तिम कसरतमा उम्मेदवार

0
Shares

बैतडी । 

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका उम्मेदवारहरू आफ्नो पक्षमा भोट माग्न अन्तिम कसरत गरिरहेका छन् । मत खसाल्ने दिन नजिक आएका बेला उम्मेदवारहरुले घरदैलो अभियानलाई तीव्रता दिँदै अन्तिम कसरतमा जुटेका हुन्


जिल्लाका १० वटै स्थानीय तहमा उम्मेदवार भोट माग्न घरदैलो अभियानमार्फत अन्तिम कसरतमा रहेका नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिनुभयो । चुनावी तालमेल भएका पालिकाहरुमा संयुक्तरूपमा चुनावी सभा र घरदैलो अभियान सञ्चालन भइरहेको उहाँको भनाइ छ ।

प्रतिवद्धतापत्र सार्वजनिक गरेर घरदैलो अभियान सञ्चालन गरी मत मागिरहेको दोगडाकेदार गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार देवराज जोशीले बताउनुभयो । जनताको आवश्यकताअनुसार प्रतिवद्धतापत्र बनाएको र स्थानीयका समस्या बुझ्ने र भोट माग्ने उद्देश्यसहित घरदैलो गरिरहेका उहाँको भनाइ छ ।

त्यस्तै, नेकपा एमालेले पनि १० वटै स्थानीय तहका उम्मेदवारहरू घरदैलो अभियानलाई तीव्रता दिएको जनाएको छ । निर्वाचनको मिति नजिकिएसँगै मत माग्ने कार्यलाई अन्तिम चरणमा पुगेको दोगडाकेदार गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार चक्र कार्कीले बताउनुभयो । जिल्लाका सबैजसो ठाउँमा आफ्ना उम्मेदवारहरु आफ्ना चुनावी एजेन्डासहित घरदैलोमा व्यस्त रहेका चन्दको माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीले बताउनुभयो ।

नेकपा एकीकृत समाजवादी पनि मत माग्न अन्तिम कसरतमा जुटेको उक्त पार्टीका जिल्ला इन्चार्ज परमानन्द भट्टले बताउनुभयो । राप्रपाले पनि जिल्लाका विभिन्न ठाउँमा चुनावी सभा सम्पन्न गरेको र हाल घरदैलो अभियानमा रहेको राप्रपाका जिल्ला अध्यक्ष इन्द्रदेवशरण भट्ट बताउनुहुन्छ ।यस्तै, जिल्लामा स्वतन्त्र उम्मेदवारहरुले पनि चुनावी अभियान अन्तिम चरणमा पुगेको बताएका छन् ।

जिल्लाको डिलाशैनी गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार बनेका सन्तोषप्रकाश जोशीले घरदैलो अभियानलाई तीव्रता दिएको जनाएका छन् । घरदैलो अभियानका साथै सांगीतिक कार्यक्रमसहित चुनावी सभाको आयोजना गरिएको छ । वैशाख २६ गते सिमार र २७ गते धामीगाउँमा सांगीतिक कार्यक्रम राखिएको जोशीले बताउनुभयो ।

जिल्लाका केही स्थानीय तहहरुमा दलहरुले चुनावी तालमेल गरेका छन् भने केही स्थानीय तहमा एक्लै चुनावी मैदानमा रहेका छन् । एमालेले सुर्नयामा राप्रपासँग चुनावी तालमेल गरेको भने सत्तारूढ गठबन्धन दलले जिल्लाको दोगडाकेदार, पञ्चेश्वर र डिलाशैनी गाउँपालिकामा तालमेल गरेका छन् ।बैतडीका १० स्थानीयतहमा १० पालिका प्रमुख, १० उपप्रमुख, ८४ वडाध्यक्ष, र ३ सय ३६ वडा सदस्य गरी ४ सय ४० पदका लागि निर्वाचन हुँदै छ ।